आदिवासी जनजातिको प्रबद्र्धनमा नगरपालिका प्रतिबद्ध : नगर प्रमुख खरेल


उर्लाबारी, ५ असार । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले आदिवासी जनजातिको प्रबद्र्धनमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ । आदिवासी जनजाति महासंघ, नगर समन्व्य परिषद् उर्लाबारीको आयोजनामा गत असार ३ देखी सुरु भएको “प्रथम आदिवासी जनजाती फुड फेष्टिबल तथा सांस्कृतिक कार्यक्रम”को समापन समारोहमा बोल्दै नगर प्रमुख खरेलले सो कुरा बताउनुभएको हो ।

उहाँले सबैको सुझाब र भावनालाई समेटेर नगरपालिका अहिले बजेट निर्माणको तयारीमा जुटिरहेको बताउनुहुँदै आदिवासी जनजातिको प्रद्धर्बन र प्रोत्साहनका लागि लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । नगर प्रमुख खरेलले आदिवासी जनजाति महासंघले गर्दै आएका नियमित कार्यक्रमलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख मिना खतिवडा, महासंघका सल्लाहकार रुद्रबहादुर तामाङ, रामकुमार राई लगायतको पनि आतिथ्यता रहेको थियो । आदिबासी जनजातीहरुको आर्थिक समृद्धिसँगै पहिचानलाई समाजमा स्थापित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको महासंघका नगर अध्यक्ष मणिलाल श्रेष्ठले जानकारी दिनुभयो ।

फेष्टिबलमा राई, लिम्बु, धिमाल, तामाङ, मगर, माझी, किरात, नेवार सहित स्थानीय जातजातीका मौलिकता सहित पराम्परागत खानाका परिकारहरु राखिएको थियो । सो अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर मनोरञ्जन समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्