उर्लाबारीमा एक हजार ९ सय गरिबको नि :शुल्क स्वास्थ्य बिमा गरिने


उर्लाबारी, ३० जेठ । उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले आगामी आर्थिक वर्षमा नगरभित्र रहेका एक हजार ९ सय जना बिपन्न तथा गरिब घरपरिवारको नि : शुल्क स्वास्थ्य बिमा गर्ने उद्घोष गर्नुभएको छ ।

उहाँले नगरका सबै वडा कार्यालयबाट एक/एक सयका दरले र नगरपालिका कार्यालयको तर्फबाट एक हजार गरी १९०० घरपरिवारको नि : शुल्क स्वास्थ्य विमा गर्ने बताउनुभयो । उहाँले आफ्नो मान्छे र पार्टीको मान्छे भनेर वास्तविक बिपन्न र गरिव परिवार छुट्न नहुने भन्दै त्यसलाई ध्यान दिन आग्रह गरेको समेत बताउनुभयो ।

उर्लाबारी उद्योग वाणिज्य संंघले आज आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा बोल्नु हुँदै उहाँले सो कुरा बताउनुभएको हो । आगामी डेढ वर्षमा राजमार्ग बिस्तार हुने भएकाले तत्काल ढल निर्माण गरेर बजेट दुरुपयोग गर्नुभन्दा तत्कालका लागि ढल सफा गराएर पुरानो मावा शाखा र मावा खोलामा पानी कटानको काम गर्ने प्रयास भईरहेको नगर प्रमुख खरेलले बताउनुभयो । उहाँले उर्लाबारी नगरलाई सफा र स्वच्छ नगर बनाउन यहाँका व्यवसायी र नागरिकसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।

उहाँले करलाई घटाएर दायरा बढाउने बताउनुभयो । घर बहाल करलाई घटाएर सबैले तिर्न सक्ने वातावरण बनाउने योजनामा रहेको नगर प्रमुख खरेलले बताउनुभयो । उहाँले हाल उर्लाबारीमा सिसी क्यामरा रहेको तर काम भने नगर्ने आफुले जानकारी पाएको बताउनुहुँदै उर्लाबारीका बरगाछी, दुर्गापुरी, हाटखोला, मुख्य चोक, आईतबारे र मंगलबारे क्षेत्रमा सिसी क्यामरा जोड्ने तयारीमा रहेको बताउनुभयो । उर्लाबारीमा शुक्रवारे हटियाका दिन व्यापारीहरु शौचालयको अभावमा पानी समेत नखाई बस्ने गरेको आफुले सुनेको बताउनुहुँदै नगर प्रमुख खरेलले सार्वजनिक शौचालय निर्माण र घुम्ती शौचालय निर्माणमा लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख मिनाकुमारी खतिवडाले उर्लाबारीको बजार व्यवसायको प्रबद्र्धनका लागि उर्लाबारी–मधुमल्ला सडक खण्ड कालोपत्रे अनिवार्य रहेकाले यसका लागि लागिपर्ने बताउनुभयो । विराटनगरमा भएको प्रदेशस्तरीय जनप्रतिनिधिहरुको भेलामा पनि आफुले उर्लाबारी–मधुमल्ला सडक खण्ड निर्माणलाई प्राथमिकताका साथ उठाएको बताउँदै यसको निर्माणका लागि सबैको खबरदारी आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रविन लामाले नगरको विकाश र समृद्धिका लागि जनप्रतिनिधिहरु उद्योगी व्यवसायी सँगसँगै अघि बढ्ने बताउनुभयो । उहाँले व्यवसायीको समस्यामा जुनसुकै समयमा पनि आफु सहभागी भएर साथ दिन तयार रहेको प्रतिबद्धता जनाउनुभयो । उहाँले व्यवसायिक समस्याका विषयमा जनप्रतिनिधि र उवासंघ छलफल गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उर्लाबारीका व्यापारीहरलाई शान्ति सुरक्षाका लागि आफु हरदम लागिपर्ने लामाले बताउनुभयो ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष तेजकुमार रिजाल, पुर्व अध्यक्ष एवम् प्रमुख सल्लाहकार प्रितम खड्गीले उर्लाबारी नगरको बजारीकरण, पर्यटन, पूर्वाधार लगायत क्षेत्रमा सबैको भावनालाई समेटेर दृढताका साथ अघि बढ्न जनप्रतिनिधिहरुलाई शुभकामना दिनुभएको थियो । कार्यक्रम संघका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन महासचिव हेमराज गुरुङले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्