झापा आगलागीमा एक जनाको मृत्यु, बालिकासहित १२ जना घाइते


मेचीनगर, २२ पुस । झापा मेचीनगर नगरपालिका–७ स्थित इन्द्रेणीटोलको एक घरमा बुधबार राति भएको आगलागीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेनपा–८ का शरद राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । धुलाबारीस्थित एन्जल मेडिकल हल पुर्‍याउनासाथ राजवंशीको मृत्यु भएको हो ।

आगलागीमा ८ वर्षीया बालिका सुशीला अधिकारीसहित १२ जना घाइते भएका छन् । उनको साई इँटाभट्टास्थित सिमरन मेडिकल हलमा उपचार भइरहेको छ । उनी मेनपा–८ की बासिन्दा हुन् ।

मेनपा–७ का ४० वर्षीय लेखनाथ तिम्सिना, वर्ष ३२ का दीपेन्द्र कार्की, वर्ष ३८ का चन्दन गौतम, वर्ष ४० का सुभलाल राजवंशी, वर्ष ३५ का विनोद गिरी, वर्ष २८ का सन्देश बोहरा, वर्ष ४० का भवानीशङ्कर न्यौपाने, वर्ष ३४ का निर्मल शर्मा र वर्ष ३५ का नवराज श्रेष्ठ आगलागीमा घाइते भएका छन् ।

मेनपाका ३४ वर्षीय हरि विक र बिर्तामोड नगरपालिका–९ का २९ वर्षीय गोविन्द राजवंशी पनि घाइते छन् । घाइते न्यौपानेको बिर्तासिटी अस्पताल र अरू सबैको बिएन्डसी अस्पतालमा उपचार भइरहेको डिएसपी पाठकले बताए ।

बुधबार राति साढे ९ बजेतिर केशव पाठकको घरमा अचानक आगलागी भएको थियोे । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । टिनको छानो भएको घरमा आगलागी हुँदा दुई ग्याँस सिलिन्डर विष्फोट भएका थिए । प्रहरीले पनि सिलिन्डर विष्फोट भएको अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्