वातावरण पत्रकारिता पुरस्कार पत्रकार गोविन्द पोखरेललाई


काठमाण्डौँ, २२ जेठ । नेपाल वातावरण पत्रकार समूहले यो वर्षको वातावरण पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी गोविन्द पोखरेललाई प्रदान गर्ने भएको छ । समूहले प्रत्येक वर्षको विश्व वातावरण दिवस जुन ५ मा पुरस्कार घोषणा गर्ने गरेको छ ।

पोखरेलले कान्तिपुरमा विज्ञान–प्रविधि, वन्यजन्तु, जलवायु परिवर्तन तथा जैविक विविधता सम्बन्धी रिपोर्टिङ गर्दै आएका छन् । उर्लाबारी नगरपालिका ३ घर भएका पोखरेल हाल काठमाण्डौँमा रहेर कान्तिपुरमा कार्यरत रहेका छन् । उर्लाबारीमा रहँदा उनले केही वर्ष निगरानी दैनिक र उद्घोष दैनिकमा काम गरेका थिए ।

अर्जुन ढकाल, चन्द्रशेखर कार्की र जुद्धबहादुर गुरुङ सम्मिलित निर्णायक मण्डलको सिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको समूहको विज्ञप्तिमा उल्लेख छ । समूहको आगामी साधारणसभाको दिन पुरस्कार हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्