उर्लाबारीमा पतिले गरे पत्नीमाथि छुरा प्रहार


उर्लाबारी, १७ जेठ ।  मोरङको उर्लाबारी नगरपालिका–४ मा पति (श्रीमान) को छुरा प्रहारबाट पत्नी गम्भीर घाइते भएकी छन् । मादक पदार्थ सेवन (मापसे) गरेर ४० वर्षीय सुमन महराले पत्नी ३५ वर्षीया कुमारी महरालाई सोमबार राति ९ बजेतिर छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मापसे गरेर घर आएका सुमनले पारिवारिक विवादपछि पत्नीको पेटमा अन्धाधुन्ध छुरा हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार हुन नसकेपछि घाइते कुमारीलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा ल्याइएको छ । पत्नीलाई छुरा हान्ने सुमनलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सुमन सधैँ मापसे गरेर आउने र घरमा झैझगडा गर्ने गरेको खुलेको छ । उनीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा चलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्