उदयपुरको कटारीमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु


उदयपुर, १६ जेठ । उदयपुरको कटारी नगरपालिका–१४ भदौरेस्थित चनौटे खोलानजिक आज बिहान ट्रक दुर्घटना हुँदा मृत्यु भएका चारै जना पुरुषको पहिचान खुलेको छ ।

मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतिर जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड ट्रक शिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा आफैँ अनियन्त्रित भएर बिहान २ः३० बजेतिर दुर्घटनामा परेको हो । चालक निदाउँदा ट्रक सडकबाट लगभग एक सय मिटरजति तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले जानकारी दिए । उनका अनुसार चालक निदाएका कारण दुर्घटना भएको पाइएको छ ।

दुर्घटनामा परेको ट्रक घटनास्थलमै छ । घटनास्थलमै रहेका शवहरु बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरीले दुर्घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्