उर्लाबारी नगरपालिकामा सर्वदलीय बैठक, नगरको विकाशमा सबै लागिपर्ने


उर्लाबारी ११ जेठ । उर्लाबारी नगरपालिकामा स्थानीय तहको निर्वाचन पश्चात नगरप्रमुख गंगाप्रसाद खरेल ,उपप्रमुख मिना पौडेल सहितको पहिलो सर्वदलीय बैठक आज सम्पन्न भएको छ ।

बैठकमा उर्लाबारीमा रहेका प्रमुख समस्या र नव निर्वाचित नेतृत्वले गर्नुपर्ने कामका बारेमा छलफल भएको छ । बैठकमा सहभागीहरुले उर्लाबारी – मधुमल्ला सडक तत्काल पुननिर्माण गर्न पहल गर्नुपर्ने , ढल निकासका लागि पहल गर्नुपर्ने , लागूऔषध नियन्त्रणका लागि प्रभावकारी काम गर्नुपर्ने , भौतिक पुर्वाधार विकासका लागि प्रदेश ,केन्द्रमा सबै दलले समन्वय गर्नुपर्ने ,असारे विकासलाई निरुत्साहित गर्नुपर्ने ,कालोपत्रे सडक दीगो हुनुपर्ने ,सर्वदलीय बैठक निरन्तर हुनुपर्ने ,सार्वजनिक जग्गा नगरपालिकाले ब्यवस्थापन गर्नुपर्ने ,उर्लाबारीलाई पर्यटकीय क्षेत्र बनाइनुपर्ने, सबै पक्षलाई समेट्दै बिज्ञहरुको राय लिएर काम गर्न नगर प्रमुख, उपप्रमुखलाई सुझाब दिईएको छ ।

सो बैठकमा एमालेका गंगाप्रसाद बास्तोला, नेपाली काँग्रेसका सुरेन्द्र लिम्बू ,माओवादी केन्द्रका प्रवेश धिमाल, राप्रपाका देवी दाहाल, जनता समाजवादीका बिशाल आङ्देम्बे, मौलिक जरोकिलोका नेता विज्ञान आचार्य, संघीय राष्ट्रिय मञ्चका बरुण लाबुङ, मङ्गोल नेशनल अर्गनाइजेसनका नारायण बिसंखे लगायतका नेताहरुको उपस्थिति रहेको थियोे । सो अवसरमा नगर प्रमुख खरेलले शान्तिपूर्ण ढंगबाट भएको निर्वाचनबाट आफु सहितको नेतृत्व आएकोमा सबै पक्षलाई धन्यवाद दिनुभएको छ । उहाँले आगामी दिनमा सरोकारवाला सबै पक्षको राय सुझावका आधारमा काम गर्दै समृद्ध उर्लाबारी बनाउन लागिपर्ने बताउनुभएको छ । उहाँले सहयोगीहरुको खोजी गरेर भएपनि काम गर्ने बताउनुभएको छ । उहाँले नमूना नगर बनाउन आफूले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्