शोकलाई शक्तिमा बदल्दै उर्लाबारी – ७ मा एमालेको बृहत घरदैलौ


मिलन के राउत
उर्लाबारी, २१ वैशाख –  यतिबेला स्थानीय निर्वाचनको माहोल तातेको छ । उम्मेद्वारहरु मतदाताको घरदैलोमा मत माग्न व्यस्त छन् । तर, उर्लाबारी–७ मा नेकपा एमालेबाट वडाध्यक्षको उम्मेद्वार रहेकी उर्मिला थापालाई भने यो अवसर प्राप्त भएन । उम्मेद्वारी मनोनयन गरेर वडाबासीमा आफ्ना एजेण्डा लिएर जाने योजना बुन्दाबुन्दै उहाँका श्रीमान्को निधन भयो । अहिले थापा पति शोकमा छिन् ।
उनका श्रीमान वीरबहादुर थापाको गत विहिबार देहान्त भयो । साविक उर्लाबारी गाविस वडा नं. ४ (हाल उर्लाबारी ७) का वडाध्यक्ष वीरबहादुर थापाको निधनमा यहाँका एमालेजन स्तब्ध र मर्माहत भएका छन् । थापाले २०४३ सालमा जनपक्षीय उम्मेद्वारको रुपमा साथै ०५४ को स्थानीय निर्वाचनमा एमालेका तर्फबाट जित हासिल गरेका थिए ।
पतिको बिँडो थाम्न वडाध्यक्ष बन्न कम्मर कसेर लागेकी उर्मिलालाई परेको यो बज्रपात एमालेजन र आम वडाबासीले राम्ररी बुझेका छन् । पतिशोकमा रहेकी वडाध्यक्ष पदकी उम्मेद्वार उर्मिला संस्कारगत कारणले चुनावी अभियानमा सहभागी हुन नसकेपनि सिंगो टिमलाई जिताउन कुनै कसर बाकी नराख्ने एमाले ७ नम्बर वडा कमिटीका अध्यक्ष योगेश बस्नेतले बताए ।
‘वडाका अग्रज व्यक्तिको निधन भएको छ, हामी उहाँको ख्याति र लोकप्रियतालाई कायम राख्ने छौ’ बस्नेतले भने ‘शोकलाई शक्तिमा बदल्दै चुनावी अभियान अघि बढाएका छौ ।’ एमालेले ७ नम्बर वडामा चुनाव प्रचारप्रसार अभियानलाई तीव्रता दिएको बस्नेतले जानकारी दिए । उनका अनुसार दलित महिला सदस्य कविता शिवा, महिला सदस्य मनमाया तामाङ, खुला सदस्यहरु राजन दाहाल र हरिप्रसाद ढकाल सहितको टोली आफ्नो टिमका प्रतिबद्धता लिएर घरघर पुगेको छ । वडाबासीको माया, सद्भावले आफूहरु चुनाव जित्नेमा ढुक्क रहेको वडा सदस्य पदका उम्मेद्वार राजन दाहालले बताए ।
दैनिकजसो उम्मेद्वारहरु मतदाताका समस्या बुझ्न र आफ्ना कुरा राख्ने क्रम चलिरहेको छ । घरदैलो अभियानमार्फत मतदातालाई प्रत्यक्षरूपमा भेटघाट गरेर आफू र एमालेको टिमलाई जिताउनका लागि भोट दिन अपिल गरिएको छ । सिंगो वडालाई समृद्ध बनाउन र समाजमा रहेको जातीय, वर्गीय विभेदको अन्त्यसँगै शिक्षा र चेतनाको विकास गर्नका लागि आफूहरुले योजना बनाएको वडाध्यक्ष पदकी उम्मेद्वार उर्मिला थापाले बताइन् । ‘म यतिबेला पति वियोगमा छ’ उनले फोन सम्पर्कमा भनिन्, मेरो शरीर घरमै भएपनि मन वडाबासीका घरघरमा पुगेको छ । हाम्रा उम्मेद्वारहरु साझा प्रतिबद्धता लिएर सबैतिर पुग्नुभएको छ । सबैको मतको अपेक्षा गर्दछु ।
लामो समयदेखि नेकपा एमालेमा सक्रिय थापा हाल नेकपा एमाले जिल्ला कमिटी सदस्य हुन् । सामाजिक तथा राजनीतिक क्षेत्रमा योगदान गर्दै आएकी उनी उर्लाबारीमा पहिलो महिला वडाध्यक्ष भएर इतिहास कायम गर्ने र उर्लाबारी–७ लाई नमूना वडा बनाउने अभियानमा छिन् ।
प्रतिक्रिया दिनुहोस्