पाण्डेले एमालेको विरासत गुम्न नदिने !


मिलन के राउत

उर्लाबारी –  बुवा हर्कबहादुर र आमा मनमाया पाण्डेका जेठा छोराको रुपमा २०३२ साल फागुन ८ मा जन्मिएका हुन् तिलक पाण्डे । आसन्न स्थानीय तह चुनावमा नेकपा एमालेका तर्फबाट उर्लाबारी १ मा वडाध्यक्ष पदका उनी सशक्त उम्मेद्वार हुन् ।

शालिन, भद्र र सहयोगी भावनाका पाण्डेका अघि चुनावी मैदानमा रहेका अन्य प्रतिस्पर्धीहरु फिक्का देखिएका छन् । उसैपनि उर्लाबारी १ नम्बर वडा एमालेको ‘बाघखण्ड’का रुपमा रहिआएको छ । १ नम्बर वडाको नेतृत्व नगुमाउने योजनाका साथ एमाले अघि बढेको छ ।

हालसम्म लक्ष्मीझार, माथ्लो कत्ले, कोपिला चौक, मिलन चौक, चिसापानीलगायतका घरदैलोमा एमाले उम्मेद्वारप्रति ब्यापक जनलहर उर्लिएको छ । तीनखोप्रे, चारघरे, पीपलडाँगी, हिलेडाँगी, मेचेडाँगी, दिङ्ले चौक, बयरडाँगी, अविरल चौक, टप्पु, सीमानावस्ती, झारसाँदी, विहीबारे, खयरभट्टी, डाडाँगाउँ, धाउन्ने चौक तथा सुकुम्बासी टोलहरुका घरलौरी सुर्यध्वाजाबाहक उम्मेद्वारलाई जिताउन आतुर रहेको एमाले उर्लाबारी नगर प्रचार प्रमुख मदन दाहालले जनाए ।

गत स्थानीय चुनाबमा कांग्रेसका मेयर उम्मेद्वारलाई एमालले यहि वडामा फराकिलो मतले उछिनेको थियो । विगतको सांगठनिक विरासतलाई कायम राख्नुपर्ने एमाले सामु चुनौती छ । ०७४ को चुनावमा एमालेले वडामा जित हात पारेपनि पार्टीबाट विजयी वडाध्यक्ष उम्मेद्वारले सिंगो पार्टी र मतदातालाई ‘धोका’ दिएका कारण आफुप्रति जनहितमा काम गर्ने गहन अभिभारा आइपरेको पाण्डे बताउछन् ।

‘एमालेको मतबाट जितेर जनविरोधी कित्तामा लागेका व्यक्तिहरु फरक चिन्ह लिएर पुन भोट माग्न थालेका छन्’ पाण्डेले भने, ‘त्यस्ता छद्मभेषी व्यक्तिहरुप्रति न्यायप्रेमी जनताहरु सजग र सचेत हुन जरुरी छ ।’ चुनाव जित्ने पहिलो आधार संगठन हो । एमालेले १ नम्बर वडाका सबै टोलमा टोल कमिटी गठन गरिसकेको पार्टीका नगर प्रचार प्रमुख मदन दाहाल बताउछन् । उनले भने – ‘विपक्षीहरु एमालेविरुद्ध मात्र होइन, विकासका गतिलाई अघि बढ्न नदिने गरी विभिन्न रुपरंगमा देखिएका छन् । उनीहरु भ्रम फैलाएर भोट बटुल्न मात्र लागिपरेको स्थानीयबासीले बुझेका छन् । त्यसैले आम मतदाताहरु विखण्डनकारी तत्वको विपक्षमा हुनुहुन्छ ।’ १ नम्बर वडामा एमालेको विरासत तोड्न माओवादी, जसपा र एकीकृत समाजवादीले चुनावी तालमेल गरेपनि त्यो अपवित्र गठबन्धन भएको भन्दै उनीहरुलाई तेस्रो स्थानमा सीमित गर्ने पाण्डेले प्रक्षेपण गरे । भन्छन् –‘हाम्रो प्रतिस्पर्धी कांग्रेस हो तर उपनि दोस्रो हुन संघर्ष गरिरहेको अवस्था छ ।’ जेष्ठ नागरिकको आशिर्वाद रहेकाले आफ्नो जीत निश्चित भइसकेको पाण्डले सुनाए ।

किशोरावस्थामै राजनीतिक सुझबुझ बटुलेका पाण्डेले गाउँकै शारदा मावि झाँरसादीबाट प्रारम्भिक शिक्षा थालनी गरेका हुन् । मनोहर जनता मावि मधुमल्लाबाट एसएलसी उतीर्ण उनले सुकुना बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हाँसिल गरेका छन् । एमाले भातृसंगठन युवा संघमा आबद्ध भएर राजनीतिमा जोडिएका पाण्डे हाल एमाले उर्लाबारी नगर कमिटी सचिवालय सदस्यको भुमिकामा छन् ।

तत्कालिन मधुमल्लाको ८ नम्बर वडामा शिक्षालयको अभाव थियो । उनकै पहलमा मेचेडाँगी भन्ने ठाउमा हालको बालज्योती आधारभुत प्रावि स्थापना भएको हो । स्कुल स्थापनामा अग्रणी भुमिका खेलेका पाण्डेले सोही विद्यालयमा ५ वर्ष अध्यापन समेत गरेका थिए । यसअघि वडामा नभएका कार्यहरु जस्तै निःशुल्क पशु बिमा, गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा पढाउन सहयोग गरिने, कृषिको आधुनिकीकरण र व्यवसायिकरणमा जोड दिने, मठमन्दिर पुनर्निमाण, खोला तटबन्धन, बाटो, निमार्णमा दुर्त स्तरमा काम गर्ने आफ्नो पहिलो प्राथमिकता भएको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्