मिक्लाजुङ काँग्रेसमा ‘भाँडभैलो’, एमाले उम्मेद्वारलाई सघाउने बाचा !


उर्लाबारी –  गठबन्धनका उम्मेद्वारलाई जिताउने भन्दै पार्टीका आधिकारिक उम्मेद्वारको उम्मेद्वारी रद्द गरिएपछि मोरङको मिक्लाजुङ कांग्रेसमा ‘भाँडभैलो’ मच्चिएको छ । मिक्लाजुङ ८ मा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार शेरबहादुर बस्नेत रहेका थिए ।

गठबन्धनका तर्फबाट ८ नम्बर वडामा कांग्रेसले माओवादी केन्द्रका उम्मेद्वारलाई सहयोग गर्नेभएपछि स्थानीय कांग्रेस कार्यकर्ताले पार्टी ह्वीव उलंघन गर्ने जनाएका छन् । उम्मेदवारी फिर्ता भएको भनी निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएपछि वडाध्यक्ष पदका उम्मेद्वार बस्नेतको उम्मेद्वारी रद्द भएको छ । माओवादी केन्द्रबाट वडा नम्बर ८ मा उम्मेद्वारी दिएका प्रवेश कुवँरलाई सहयोग गर्ने मिक्लाजुङ कांग्रेसले जनाएको छ । सो वडामा कांग्रेसको तर्फबाट वडाध्यक्ष र एक सदस्य पदको उम्मेद्वारी रद्द गरिएको हो ।

गठबन्धनका नाममा मिक्लाजुङ कांग्रेसका नेताले आफुलगायत वडाका कार्यकर्तासँग कुनै सल्लाह नै नगरी उम्मेद्वारी फिर्ता गराएर कार्यकर्ताको भावनामाथि खेलबाड गरेको बस्नेतले बताए । उनले वडाध्यक्षका एमाले उम्मेद्वार नबीन कार्कीको प्यानललाई जिताउन आफुहरुको भुमिका रहनेपनि जनाए । बस्नेतसहित वडाका ३० जना कांग्रेसका क्रियाशिल सदस्यले गठबन्धनका उम्मेद्वारलाई असहयोग गर्नेपनि जनाएका छन् । यस्तै, गठबन्धनका उम्मेद्वार जिताउने भन्दै उम्मेद्वारी रद्द गरिएपछि उर्लाबारी ८ का माओवादी केन्द्रका उम्मेद्वार अमर सेलिङले फेसबुकमा स्टाटस् लेख्दै पार्टी परित्याग गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्