शोकलाई शक्तिमा बदल्दै उर्लाबारी ७ नम्बरमा एमालेको घरदैलौ


उर्लाबारी – साविक उर्लाबारी गाविसका वडाध्यक्ष बीरबहादुर थापाको विहीबार देहान्त भएपछि स्थानीय एमालेजन स्तब्ध र मर्माहत भएका छन् । थापाले ०५४ को स्थानीय निर्वाचनमा साविक वार्ड नम्बर ४ मा एमालेका तर्फबाट जित हासिल गरेका थिए । यतिबेला उनै थापाकी श्रीमती समेत रहेकी एमाले नेतृ उर्मिला थापा चुनावी मैदानमा छिन् ।
पतिशोकमा रहेकी वडाध्यक्ष पदकी उम्मेद्वार उर्मिला संस्कारगत कारणले चुनावी अभियानमा सहभागी हुन नसकेपनि सिंगो टिमलाई जिताउन कुनै कसर बाकी नराख्ने एमाले ७ नम्बर वडा कमिटीका अध्यक्ष योगेश बस्नेतले जानकारी दिए । ‘वार्डका अग्रज व्यक्तिको निधन भएको छ, हामी उहाँको ख्याती र लोकप्रियतालाई कायम राख्ने छौ’ बस्नेतले भने – शोकलाई शक्तिमा बदल्दै चुनावी अभियान अघि बढाएका छौ ।
एमालेले ७ नम्बर वडामा चुनाव प्रचारप्रसार अभियानलाई तीव्रता दिएको बस्नेतले जानकारी दिए । उनका अनुसार दलित महिला सदस्य सीतादेवी विक, महिला सदस्य मनमाया तामाङ, खुला सदस्यहरु राजन दाहाल र हरिप्रसाद ढकाल सहितको टोलीले शुक्रबार विहान तल्लो स्कुलडाँडाको बाघखोर, मिलडाँडा, कुलुङचौक र आसपासका टोलमा घरदैलो गरेको छ ।
उम्मेद्वारहरुले मतदाताका समस्या बुझ्न र आफ्ना कुरा राख्ने क्रम चलिरहेको छ । घरदैलो अभियानमार्फत मतदातालाई प्रत्यक्षरूपमा भेटघाट गरेर आफू र एमालेको टिमलाई जिताउनका लागि भोट दिन अपिल गरिएको एमाले ७ नम्बर वडा कमिटीका उपाध्यक्ष जिसन कार्की बताउछन् ।
उनले निर्वाचनमा एमालेका उम्मेदवारलाई अत्यधिक मत दिएर विजयी बनाउन जनसमुदायमा आग्रह गरेका छन् । सिंगो वडालाई समृद्ध बनाउन र समाजमा रहेको जातीय, वर्गीय विभेदको अन्त्यसँगै शिक्षा र चेतनाको विकास गर्नका लागि एमालेलाई मत दिनुपर्ने आधार रहेको कार्कीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्