गाउँमै कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै मधुमल्ला चिल्ड्रेन


उर्लाबारी । गुणस्तरीय शिक्षाका लागि शहर बजार मात्र केन्द्रीत हुने सबैको सोच पाईन्छ । शहर बजारमा मात्र राम्रो शिक्षा हासिल हुन सक्ने अभिभावकहरुमा पनि एउटा मनोबिज्ञान छ ।

तर मोरङको उर्लाबारी नगरपालिका – १ को लक्ष्मीझारमा रहेको मधुमल्ला चिल्ड्रेन एजुकेशन एकेडेमी स्कुलले गाउँमै सर्वसुलभ रुपमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । २०६५ सालमा स्थापित सो स्कुलले उर्लाबारीको शहरी बस्तीबाट टाढा रहेको वडा नम्बर १ को लक्ष्मीझार गाउँमा जिल्लामै सबैभन्दा कम शुल्कमा विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएको छ ।

स्कुलका फाउण्डर प्रिन्सिपल नेत्रप्रसाद गड्तौलाका अनुसार यस भेगमा बढी मात्रामा बिपन्न र अति बिपन्न बर्गका अभिभावकहरुको बसोबास बढी रहेकाले जिल्लामै सर्वसुलभ शुल्कमा अध्यापन गराउँदै आएका छौँ । सो स्कुलमा नर्सरीदेखी कक्षा ८ सम्म अध्यापन हुँदै आएको छ । २०६५ सालमा ४२ जना विद्यार्थीबाट सुरु भएको स्कुलमा हाल ३५० बढी विद्यार्थी अध्ययनरत रहेका छन् । स्कुलमा हाल १८ जना शिक्षक शिक्षिकाले अध्ययन गराउँदै आउनुभएको छ ।

सो स्कुलमा मिक्लाजुङको खोलीटार, ठाँडे, मुगुटार, सफेवा हुँदै लालमाटी, खाकरबारी, बेतिनी, कालीझोरका साँथै उर्लाबारी १ र ४ का विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । विद्यार्थीहरुलाई आउन जानका लागि स्कुलको एउटा बस र भ्यान रहेको छ । स्कुल गाउँमा रहेका अभिभावकहरुलाई केही सहज होस् भन्ने उदेश्यले कक्षा नर्सरीमा भर्ना र यातायात पनि नि : शुल्क गरेको छ । आफ्ना शिक्षक शिक्षिकाका छोराछोरी तथा अन्य अति बिपिन्न बर्गका गरी २५ बढी विद्यार्थीलाई स्कुले नि : शुल्क अध्ययन समेत गराउँदै आएको फाउण्डर प्रिन्सिपल गड्तौलाले जानकारी दिनुभयो । अन्दाजी ४ कट्ठा क्षेत्रफलमा फैलिएको सो स्कुलको संचालकमा गड्तौलासहित टंकप्रसाद न्यौपाने र राजकुमार श्रेष्ठ रहनुभएको छ ।

सो स्कुलका विद्यार्थीहरुले जिल्लास्तरीय प्रतियोगितामा समेत उपाधि जित्दै आएका छन् । प्रजातन्त्र दिवसको अवसरमा पारेर संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था (एसबीएससी) मोरङको आयोजनामा विराटनगरस्थित पोलस्टार बोर्डिङ स्कूलमा भएको चित्रकला प्रतियोगितामा सो स्कुलको कक्षा ८ मा अध्ययनरत छात्रा गिता श्रेष्ठ प्रथम भएकी थिईन् । श्रेष्ठले चित्रकला प्रतियोगितामा जिल्लाका अन्य विद्यालयलाई उछिन्दै सर्वाेत्कृष्ट भएर मधुमल्ला चिल्ड्रेन एकाडेमीको गरिमा उच्च राखेको फाउण्डर प्रिन्सिपल गड्तौलाले बताउनुभयो । प्रथम भएकी छात्रा श्रेष्ठले नगद रु ५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेकी थिईन् । शिक्षासँगै विद्यार्थीहरुको क्षमता विकाशमा पनि स्कुलले जोड दिँदै आएको फाउण्डर प्रिन्सिपल गड्तौलाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्