एमाले उर्लाबारी आक्रामक चुनावी अभियानमा, ३ हजार नेता कार्यकर्ता परिचालन


उर्लाबारी, ८ वैशाख – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उर्लाबारीमा नेकपा एमालेले आक्रामक तयारी थालेको छ । एमालेले उम्मेद्वार चयन नगरेपनि चुनावी अभियानलाई भने तीब्रता दिएको छ ।

एमालेले चुनाव अभियान सञ्चालन गर्न ३ हजार १२३ सदस्यीय निर्वाचन परिचालन मूल समिति गठन गरेको छ । यस्तै, पार्टी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्तोला संयोजक रहेको पाँच सदस्यीय आर्थिक परिचालन उपसमिति गठन गरिएको छ । उक्त उपसमितिको सहसंयोजकमा भरतमणि गौतम, सचिवमा विकास बुढाथोकी, सदस्यमा चन्द्रबहादुर भट्टराई भरत र शेरबहादुर भण्डारी रहेका छन् ।

यस्तै, विकल राईको संयोजकत्वमा ९७ सदस्यीय युवा परिचालन उपसमिति गठन भएको छ । उक्त कमिटीको सहसंयोजकमा योगराज लाबुङ, सचिवमा योगेश बस्नेत रहेका छन् । आज पार्टी कार्यालय मंगलबारेमा बसेको पार्टी नगर कमिटीको बैठकले उक्त समितिहरु गठन गरेको हो । बैठकले चेतन सिग्देल संयोजक रहेको कार्यालय व्यवस्थापन उपसमिति पनि गठन गरेको छ ।

बैठकमा नेकपा एमाले मोरङका जनसंगठन समन्वय प्रमुख रविन थापा, प्रचार विभाग प्रमुख सन्तोष वान्तवा, युवा संघका केन्द्रीय सचिवालय सदस्य नवीन पौडेललगायतले स्थानीय निर्वाचनका विषयमा आआफ्नो संगठनको रणनीतिका बारेमा प्रष्ट्याएका थिए । पार्टी नगर अध्यक्ष गंगाप्रसाद बास्तोलाको अध्यक्षतामा बैठक बसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्