उर्लाबारी ४ मा एमालेको वडा कार्यालय उद्घाटन


उर्लाबारी ५ बैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमाले उर्लाबारी – ४ को आज आईतबारेमा वडा कार्यालय उद्घाटन गरिएको छ।

कार्यालय उद्घाटन गर्दै एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फेले परमादेशबाट बनेको गठबन्धन सरकार र त्यसमा सामेल दलहरूले महिलाहरुको सहभागिता कमजोर बनाउन खोजेको बताएकी छन् । प्रमुख अतिथि डा. तुम्बाहाम्फेले महिलालाई संविधानले दिएको अधिकारलाई कुण्ठित गर्न खोजे एक महिना मित्रै त्यसको परिणाम देखाइदिने चेतावनी दिएकी छन् ।

उनले अहिले निर्वाचन नगराउने खेल भईरहेको चर्चा गर्दै यदि कुनै पनि बहानामा निर्वाचन रोकिए संविधानको ठाडो उल्लंघन हुने बताएकी छन् । नेता डा. तुम्बाहाम्फेले आफ्ना कार्यकर्ताहरुलाई निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न गराउन निर्देशन पनि गरेकी छन् ।
सो अवसरमा मोरङ जिल्ला सदस्य एवम् सोही वडाका उत्प्रेरक उमाकान्त गौतम , उर्लाबारी पार्टी उपाध्यक्ष सेहाङ लिम्बुले जसरी भएपनि एमाले जिताउने अभियानमा लाग्न सबैलाई आह्वान गरेका छन् ।

वडा सचिव होमनाथ सापकोटाले सञ्चालन गरेको कार्यक्रममा वडा उपाध्यक्ष ममता बुढाथोकीले स्वागत र अध्यक्ष दुर्गाराम कार्कीले अध्यक्षता गरेका थिए। यसैगरी सोही स्थानमा नेपाल राष्ट्रिय शिक्षक संगठन उर्लाबारी नगर कमिटीको कार्यालय उद्घाटन गरिएको जिल्ला अध्यक्ष प्रेम भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्