निर्वाचनका लागि १९ मुलुकसँग सहयोग माग्दा कसैले दिएनन्


काठमाडौँ – निर्वाचन आयोगले दातृराष्ट्र र निकायबाट स्थानीय तहको निर्वाचनमा सहयोग नपाउने भएको छ। आयोगले अर्थ मन्त्रालयमार्फत १९ मुलुकसँग सहयोग माग गरे पनि नपाउने भएको हो।

अघिल्ला हरेक निर्वाचनमा दातृनिकायले नेपाल सरकारलाई विभिन्न वस्तु तथा सेवा दिएर सहयोग गर्दै आएका थिए। अघिल्लो निर्वाचनमा पनि भारत, चीत, यूएनडीपीलगायतका राष्ट्र र निकायले स्थानीय तहको निर्वाचनका लागि गाडीलगायत आवश्यक सामग्री सहयोग गरेका थिए।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले दातृनिकायसँग सहयोग माग गरे पनि तत्काल दिन नसकिने बताएको जानकारी दिए।
‘यस वर्ष अर्थ मन्त्रालयमै १९ वटा मुलुकलाई बोलाएर निर्वाचनको लागि सहयोगको आग्रह गरेका थियौँ’, प्रमुख निवार्चन आयुक्त थपलियाले भने, ‘उहाँहरुले तत्काल दिन सकिने ठाउँ छैन, अहिले नै दिन सकिँदैन भन्नुभयो।’

थपलियाले सहयोगको लागि प्रयत्न गरे पनि स्थानीय निर्वाचनको लागि सहयोग ल्याउन नसकेको स्वीकार गरे। ‘२०७४ मा पहिलोपटक स्थानीय चुनाव भएर यसअघि सहयोग गरेको हो अब त्योभन्दा ठूलो निर्वाचनमा सहयोग गरौँला भनेका छन्’, थपलियाले थपे।

निर्वाचन आयोगले भारतसँग केही सवारीसाधन माग गरेको छ। चीनसहित अन्य दातृनिकायसँग पनि चुनावका लागि आवश्यक पर्ने विवरण पठाएको आयोगले जानकारी दिएको छ।

प्रमुख आयुक्त थपलियाले नेपालले दातृनिकायसँग सहयोग ढिला माग गरेको कारण पाउन नसकेको बताए। उनले भने, ‘अलि छिटो भन्यो भने सहयोग पाउन सकिन्छ, हाम्रो त चुनाव पनि हतारमा हुन्छ, सहयोग गर्ने राष्ट्रले कहाँ कुरेर बसेका हुन्छन्।’ निर्वाचन आयोग स्थानीय तहको लागि वैदेशिक सहयोग ल्याउन नसके पनि प्रदेश र संघीय निर्वाचनमा ल्याउने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्