पथरीशनिश्चरे नगरपालिकाले गर्यो पत्रकारहरुलाई पुरस्कृत


पथरीशनिश्चरे, २३ चैत्र । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरको मिडिया प्रवद्र्धन गर्ने उद्देश्यले बुधबार नगरमा कार्यरत संचार माध्यम र सञ्चारकर्मी पुरस्कृत तथा सम्मानित गरेको छ ।

नगरपालिकाले हरेक वर्ष संचार माध्यम पुरस्कार, पत्रकार सम्मान र पत्रकार पुरस्कार लगायत शिर्षकमा सम्मान प्रदान गर्दै आएको हो । नगर प्रमुख दिलिप कुमार राईले संचारकर्मीहरुले नगरको विषयमा सकारात्मक वा नकरात्मक सबै प्रकारका विषय उठान गरेर नगरको विकासका लागि भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गरे ।

सोहि अवसरमा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले संचारकर्मीहरुलाई सम्वन्धित निकायलाई खबरदारी गर्ने क्रममा सहीलाई सही र गलतलाई गलत भन्न पनि गहिरो अध्ययन, अनुसन्धान र राम्ररी बुझेर मात्र समाचार प्रकाशन प्रसारण गर्न अनुरोध गरे । नगरको मिडिया प्रवद्धनका लागि पत्रकार, सञ्चार माध्यम पुरस्कार तथा सम्मान छनौेट समितिले एक कार्यक्रमको आयोजना गर्दै सो पुरस्कार वितरण गरेको थियो ।

यस वर्षको संचार माध्यम पुरस्कारको लागि क्रेजी डटकम साप्ताहिकलाई पुरस्कृत गरिएको गरिएको छ भने अनलाइन तर्फको प्रदेश दैनिक डटकमका संचालक भिमराज अधिकारीलाई पुरस्कार प्रदान गरिएको छ । यसैगरी, पत्रकार सम्मानबाट पथरी एफएम, कुरकुरे डटकम लगायतका संचार गृह संचालक समेत रहेका पत्रकार मोहन भट्टराई सम्मानित भएका छन् । नगरले प्रदान गर्ने संचार माध्यम पुरस्कार, पत्रकार सम्मान र पत्रकार पुरस्कारको राशी क्रमशः नगद २५ हजार , नगद २० हजार र नगद १५ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्