पार्टीगत गतिविधि गर्न राप्रपा उर्लाबारीले दिनेश श्रेष्ठलाई रोक लगायो


उर्लाबारी, २३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी उर्लाबारी अनुशासन समितिको आकस्मिक बैठकले युवक संगठन नगरका उपाध्यक्ष दिनेश श्रेष्ठलाई तीनभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ ।

केहि समयअघि मात्रै राप्रपामा आबद्ध भएका उर्लाबारी – ७ का श्रेष्ठले सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरी पार्टीका नेता र पार्टीलाई नै आघात पुर्याउने कार्य गरेकाले स्पष्टिकरण सोधेको हो । उनले आफुखुसी उम्मेद्वारी घोषणा गरेको भन्दै ३ दिनभित्र स्पष्टिकरण दिन माग गरेको हो । उनलाई आजैका मितिबाट पार्टीको कुनैपनि गतिविधि नगर्न नगराउन निर्देशन समेत दिएको छ ।

नवप्रवेशी श्रेष्ठले उर्लाबारी – ७ बाट राप्रपाको तर्फबाट वडाध्यक्ष पदमा उम्मेद्वारको आकांक्षा रहेको बिभिन्न मिडियामा समाचार आएका थिए । विज्ञप्तिमा राप्रपा उर्लाबारीका अध्यक्ष देवी दाहाल, अनुशासन संयोजक जनकबहादुर खड्का र युवक संगठन उर्लाबारीका अध्यक्ष इन्द्र लामाको हस्ताक्षर रहेको छ ।

यसैबीच श्रेष्ठले आफुले पार्टीलाई आघात पुर्याउने कुनै काम नगरेको दाबी गर्नुभएको छ । कोशी दैनिकसँग कुरा गर्दै श्रेष्ठले ठुला नेताले गरेको गल्ती आफ्नो काँधमा हाल्ने प्रयास भएको बताउनुभयो । पत्रकारले आफु पनि वडाध्यक्षको दाबेदार रहेको समाचार आफैँ प्रकाशित गरेको उनले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्