उर्लाबारीमा भएका बेथिती र नराम्रा कामको एमालेले भण्डाफोर गर्ने


उर्लाबारी, २२ चैत । नेकपा एमाले उर्लाबारी आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा औपचारिक रुपमा होमिएको छ । आज उर्लाबारी ३ मंगलबारेस्थित पार्टी कार्यालयमा नगर कमिटीको पुर्ण बैठकले स्थानीय निर्वाचनमा उर्लाबारी नगरपालिकामा एमालेका उम्मेद्वारलाई विजयी गराउन पार्टी कमिटी औपचारिक रुपमा होमिएको हो ।

एमाले उर्लाबारीको आजको पुर्ण बैठकले चैत २५ गतेसम्म वडा स्तरीय संयन्त्रको बैठक बसेर सर्वसम्मत रुपमा उम्मेद्वार चयन गर्ने निर्णय गरेको छ । उर्लाबारीमा एमालेलाई विजयी गराउन वडास्तरबाटै सर्वसम्मत उम्मेद्वार चयन गर्न एमालेले जोड दिएको छ । बैठकमा पार्टी स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फे, जिल्ला सचिव रुपेश खतिवडा, सांसद् घनश्याम खतिवडाले नगर कमिटीको पुर्ण बैठकलाई सम्बोधन गर्दै आवश्यक निर्देशन दिनुभएको थियो । उहाँहरुले विशेषत वडा केन्द्रीत जागरण अभियानसँगै टोल कमिटीलाई प्रशिक्षित गर्न निर्देशन दिनुभएको थियो ।

उर्लाबारीमा एमालेका उपमेयरसहित वडाध्यक्षले गरेका राम्रा कामको प्रचार र स्पष्ट बनाउँदै एमाले जनताको घरदैलोमा जाने भएको छ । साथै एमालेले काँग्रेसले नेतृत्व गरेको उर्लाबारीमा भएका बेथिती र नराम्रा कामको भण्डाफोर गरेर अघि बढ्ने एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाले बताउनुभयो ।

केन्द्रदेखी स्थानीय सम्म गठबन्धन बिभाजित रहेको र उर्लाबारीमा माओवादी राप्रपा लगायतका पार्टीका नेतृत्वकर्ता एमालेमा प्रबेश गरेकाले बैशाख ३० गतेको निर्वाचनमा एमालेलाई जिताउन पार्टी सिंगो कार्यकर्तालाई लिएर अघि बढ्ने खतिवडाले बताउनुभयो । ५ वर्षसम्म उर्लाबारी नगरपालिकाको नेतृत्व काँग्रेसले गर्दा देखिने गरी कुनै काम हुन नसेकेको भन्दै समृद्ध उर्लाबारीको नेतृत्व एमालेले मात्र गर्न सक्ने बैठकले निष्कर्ष निकालेको छ । आगामी स्थानीय तहको निर्वाचनमा उर्लाबारीको नेतृत्व एमालेले जसरी पनि जित्नुपर्ने भएकाले पार्टी कार्यकर्तालाई क्रियाशिल हुन निर्देशन दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्