उर्लाबारी ६ को वडा सदस्यमा पत्रकार किशोर श्रेष्ठको चर्चा


उर्लाबारी –  किशोर श्रेष्ठ, ख्याति कमाएका संचारकर्मी हुन् । नारी उत्थान र जनसरोकारका विषयवस्तु उठान गरेर उनी चर्चित छन् । आमसञ्चारका माध्यमबाट समाज रुपान्तरणमा योगदान पुर्याएकै भएपनि त्यतिले मात्रै उनी सन्तुष्ट छैनन् । ‘बालुवामा पानी खन्याएजस्तो भैरहेको छ’ उनले भने– पदीय भुमिकामा रहेर सामाजिक काममा लागिपर्दा नै औचित्य हुने देखे ।

उनले खोजिगरेको भुमिकाको अन्तर्य भनेको जनप्रतिनिधिको आसन हो । जुन भुमिकामा उनी देखिन चाहन्छन् । अर्थात नजिकिदै गरेको स्थानीय तह निर्वाचनमा किशोरले उम्मेदवार बन्ने बताए । दलीय रापताप को जगजगी भएपनि स्वतन्त्र रुपमै उम्मेद्वारी दिने उनले निश्चय गरेका छन् । उर्लाबारी –६ नम्बर वडाका बासिन्दा किशोर वार्ड सदस्य पदमा उठ्ने बताउछन् । वार्ड सदस्य पदमै किन ? यो त सानो पद भएन र ! उनी भन्छन् – ‘मेयर–उपमेयर वा वडाध्यक्ष पदमा उठ्दाका जोखिम धेरै छन् । आखिर काम गर्ने नै हो । पहिला त आफ्नै वार्डवासीको सेवा गर्ने मेरो हुटहुटी हो ।’ हुनपनि विगत साक्षी छ । उनले मानवसेवामा असाधारण कार्य गरेका छन् । कोरोना महामारीमा खाद्यान्न संकटले जीविका चलाउन धौधौ परेका विपन्नलाई किशोरकै अग्रसरतामा राहत वितरणहरु भए । न्यानो लत्ता कपडा बाडिए । उनले स्थानीयस्तरमा मात्रै नभएर अन्यत्रपनि गरिब–दुखीको सेवामा पहलकदमी लिएका छन् ।

युटुब च्यानल होस् वा अन्य सञ्जालका माध्यमबाट उनले सहयोग जुटाए, आफ्नै पारिश्रमिक खर्चिएरपनि समाजसेवामा योगदान गरेकोप्रति स्थानीयस्तरमा सबै जानकार छन् । सञ्चारकर्मकै माध्यमबाट पनि धेरैका फाटेका मनहरु उनले जोडेका छन् । नेपाली समाजमा पारिवारिक विखण्डन भयावह बनेको छ । धेरैका घर भाँडिएका छन् । धेरैका दाम्पत्य जीवनमा दरार आएको छ । अंशवण्डा र अन्य झैझगडाका घटना कति छन् कति ! यस्ता झमेलालाई निरुपण गर्ने सवालमा किशोरले तादरुकता देखाएकै छन् । स्क्रिनका अघि बुम बोकेर वाककला प्रष्फुटन गर्दै जाँदा फाटेका कतिपय मनहरु जोडिएका छन् । किशोर भन्छन् – ‘दुई पक्षका समस्या सहजीकरण गरेको मात्रै होइन, हलपनि गरेको छु ।’

उर्लाबारी ६ को सेरोफेरो आजपनि उस्तै छ, भौतिक पुर्वाधारमा केहि प्रगति भएपनि समग्रतामा यो वार्डले फड्को मारेको छैन । सुकुम्बासी र बेरोजगारी समस्या वार्डका प्रमुख चुनौती हुन् । यो समस्यालाई सशक्त रुपमा उठान गर्ने प्रतिनिधि वार्डवासीले खोजी गरेको भन्दै त्यसका लागि आफु ‘पर्फेक्ट’ पात्र हुने किशोरको दाबी छ । उनले भने – म निर्वाचित भएको खण्डमा अरु प्रतिनिधिसंग सहकार्य गरेर अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाउँछु । घरधुरिको लगत संकलन गरी विपन्नको पहिचान गर्ने, उनीहरुको जीवनस्तर उकास्ने गरिका कार्यक्रम ल्याउने मेरो ध्येय हुनेछ । दैनिक उपभोग्य सामाग्रीमा अचाक्ली मुल्यवृद्धि भएको छ । बजार नियन्त्रणमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्नेछौ । वार्डमा शान्तिसुरक्षा हरहालतमा कायम राख्न सार्थक पहल हुनेछ । वार्डको समग्र मुहार फेर्नका लागि वार्ड सदस्यको स्वतन्त्र उम्मेद्वारका रुपमा आफुलाई विजयी गराउन किशोरले उर्लाबारी – ६ नम्बर वार्डवासीमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्