मिक्लाजुङमा स्थानीय तह निर्वाचन फर्केर हेर्दा


मिक्लाजुङ – आगामी वैशाख ३० गते तोकिएको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा गत निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको अवधि समाप्त हुन लागेको छ । २०७४ साल असार १४ गते भएको निर्वाचनलाई फर्केर हेर्दा मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेद्वार विजयी हुनु भएको थियो ।

मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देवीप्रसाद आचार्य निर्वाचित हुनु भएको थियो । उहाले ५ हजार २२९ मत प्राप्त गर्नु भएको थिए । आचार्यले निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका मानबहादुर राईलाई १ हजार ६२४ मत अन्तरले पछि पार्नु भएको थियो । राईले ३ हजार ६०५ मत ल्याउनु भएको थियो ।

उक्त निर्वाचनमा ६ जना अध्यक्षका प्रतिस्पर्धी थिए । जसमा नेकपा माओवादी केन्द्रका प्रेमकुमार लिम्बूले २ हजार ९३१, राप्रपाका भुपेन्द्रराज कार्कीले २९९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पूर्णप्रसाद राईले १६९ र नयाँ शक्ति पार्टी नेपालका माधवप्रसाद शर्मा संजेलले ३७ मत प्राप्त गर्नु भएको थियो ।

यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी सरला राई निर्वाचित हुनु भएको थियो । उहाँले ५ हजार ८३ मत प्राप्त गर्नु भएको थियो । राईले निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसकी आरतीदेवी पोखरेललाई १ हजार ४५८ मत अन्तरले पछि पार्नु र्भएको थियो ।

पोखरेलले ३ हजार ६२५ मत ल्याउनु भएको थियो । उक्त निर्वाचनमा ६ जना उपाध्यक्षका प्रतिस्पर्धी थिए । जसमा नेकपा माओवादी केन्द्रकी जमुना दाहालले २ हजार ४९८, राप्रपाकी कविता लिम्बूले ६७०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सीता साम्बा लिम्बूले १८९ र नयाँ शक्ति पार्टी नेपालकी उम्मेद्वार हरिमाया पौडेलले ३० मत प्राप्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्