संघ र प्रदेशबाट पहल गरेर ल्याएको योजना देखाउन मेयरलाई उपमेयरको चुनौती


उर्लाबारी, १९ चैत । उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीले नगर प्रमुखले संघ र प्रदेशमा गएर पहल गरेर ल्याएको एउटा पनि योजना ल्याएको भए देखाउन चुनौती दिनुभएको छ ।

उर्लाबारी – ५ स्थित हाम्रो साकोसको सभाहलमा आज भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको प्रथम नगर अधिबेशनलाई सम्बोधन गर्नुहुँदै उपमेयर भण्डारीले मेयर खड्ग फागोले संघ र प्रदेशमा गएर पहल गरेर एउटा पनि ठुला आयोजना नल्याउने र आफुले ल्याएका योजना पनि कार्यान्वयन हुन नदिएको आरोप लगाउनुभयो । संघीय सरकारले उर्लाबारी – ८ र ९ को सिमानामा एकीकृत सन्थाल बस्ती निर्माणको बृहत योजनालाई मेयर फागोसहित काँग्रेस नेताको योजनामा असफल पारिएको उपप्रमुख भण्डारीले दाबी गर्नुभयो ।

बिभिन्न समितिमा मेयर आफैले मात्र मनोनयन गरेर कार्यपालिकालाई बाईपास गर्ने खालका ऐन कार्यविधि ल्याएका कारण त्यसलाई राकिएको उपमेयर भण्डारीले बताउनुभयो । चुनावको मुखमा प्रचारका लागि खर्च निकाल्ने बजेट नगर प्रमुख फागोले ल्याउन खोजिएका कारण नै रोकिएको उहाँले बताउनुभयो । अख्तियारमा अहिले पनि सार्वजनिक सम्पत्ती दुरुपयोगको कयौँ मुद्धा रहेका कारण नगर प्रमुखले गरेको दुपयोगको साक्षी नबसौँ भनेर कार्यपालिका बैठकबाट ऐन कार्यविधि र बजेट पास नगरिएको बताउनुभयो । उहाँले सबै जातजातिको उन्नती नभई समृद्ध नेपाल निर्माण हुन नसक्ने धारणा राख्नुभयो ।

अधिवेशनबाट खगेन्द्र भुजेल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ। उपाध्यक्षमा फुङ्हाङ लिम्बु, सचिवमा प्रितम श्रेष्ठ सहित ३१ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्