उर्लाबारीका मेयर फागोद्धारा आजदेखी सरकारी गाडी फिर्ता


उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आफुले चढ्दै आएको सरकारी गाडी फिर्ता गर्नुभएको छ । आज बेलुका उर्लाबारी पार्टी प्यालेसमा पार्टी नेता कार्यकर्तामाँझ आयोजित एक कार्यक्रममार्फत मेयर फागोले आजैदेखी सरकारी गाडी फिर्ता गर्नुभएको हो । उहाँले काँग्रेसबाट निर्वाचित सबै जनप्रतिनिधिलाई सरकारी सेवासुबिधा फिर्ता गराउन निर्देशन समेत दिनुभयो । यस्तै उहाँले चैत र बैशाख महिनाको सेवा सुबिधा तलब समेत नलिने घोषणा गर्नुभयो ।

उहाँले मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यहरुको रकम पनि भुक्तानी नगर्न लेखा प्रशासनलाई निर्देशन दिइसकेको बताउनुभयो । बहुमतको दम्भले काम गर्न नदिएको पनि उहाँले दाबी गर्नुभयो । उपमेयर लक्ष्मीदेवी भण्डारीसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले जनताको हितमा काम गर्न नदिएको मेयर फागोले बताउनुभयो ।

उहाँले उपमेयर भण्डारीले लगाउनुभएको आरोप र तर्कको एक–एक गरेर जवाफ दिनुभएको थियो । मेयर फागोले उपमेयर भण्डारीसहित एमाले नेता कार्यकर्ताले लगाएको आरोपको वडा वडा टोल टोलमा भण्डाफोर गर्न निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्