चुनावको मुखमा मोरङबाट विवादरहित एसपीको सरुवा


विराटनगर – मोरङ प्रहरी प्रमुखका रूपमा विवादरहित ढङ्गबाट काम गरिरहेका एसपी (प्रहरी उपरीक्षक) जनार्दन जिसीको काज सरुवा गरिएको छ । स्थानीय तहको चुनावको मुखमा प्रहरी प्रधान कार्यालयले जिसीसहित छ जना एसपीको विभिन्न ठाउँमा काज सरुवा गरेको हो । स्थानीय निर्वाचन नजिकिँदै गइरहेका बेला कार्य सम्पादनमा कमजोर देखाएर गरिएको एसपीको पछिल्लो काज सरुवा विवादित बनेको छ । यो निर्णयको चौतर्फी आलोचना भएको छ ।

गत असारदेखि मोरङ प्रहरी प्रमुखका रूपमा काम गरिरहेका जिसी कुनै पनि दबाब र प्रभावमा नपरेका प्रहरी अधिकृत हुन् । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै उनलाई मोरङबाट हटाउन काङ्ग्रेस र माओवादीका केही नेताहरु सक्रिय भएर लागेका थिए । शान्ति सुरक्षा र अपराध नियन्त्रण एवम् अनुसन्धानमा अब्बल दरिएका उनको सरुवा गराउन पछिल्लो समय गृहमन्त्री बालकृष्ण खाण, काङ्ग्रेस तथा माओवादीका नेताहरु कम्मर कसेर लागेको स्रोतले बतायो ।

मोरङमा बसेर पूरा कार्यकाल काम गर्न नपाएका उनको निर्वाचनको मिति नजिकिँदै जाँदा काज सरुवा हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपाल–भारत सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणमा एसपी जिसीले महत्वपूर्ण भूमिका खेलेका थिए । उनी प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीको रोजाइमा परेका प्रहरी अधिकृत पनि हुन् । तर सरकारका मन्त्री र नेताहरुको दबाब थेग्न नसक्दा उनले पनि एसपी जिसीको काज रोक्न सकेनन् ।

हत्या गरेर धनपालथान गाउँपालिकामा दुई जनाको शव गाडिएको घटनादेखि लिएर मोरङमा भएका अन्य जघन्य प्रकृतिका र ठूला अपराधको अनुसन्धान गरेर घटनालाई निस्कर्षमा पुर्याउन जिसी सफल भएका थिए । लेटाङमा महिला प्रहरीको हत्या गरिएको हिंसात्मक झडपमा उनी आफै घाइते भएका थिए । काज सरुवा गरेर उनलाई काठमाडौं रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालय लगिएको छ । मोरङ प्रहरी प्रमुखका रूपमा काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति–सुरक्षा महाशाखामा कार्यरत एसपी शान्तिराज कोइरालालाई ल्याइएको छ ।

‘नेताहरुको दबाबलाई वास्ता नगरिकन नियमित ‘पुलिसिङ’लाई प्राथमिकतामा राखेर अघि बढिरहेका बेला एसपी जिसीको सरुवा भएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘अहिलेको काज सरुवाले उनीमाथि अन्याय भएको छ ।’ प्रहरीका एक अधिकारी नेताहरुको ‘इन्ट्रेस’ र काम गराइको तारतम्य मिल्न नसक्दा जिसीको सरुवा गरिएको बताउँछन् ।

ती अधिकारीका अनुसार एसपी जिसी मोरङमा काम कारबाहीको शीलशीलामा कुनै पनि विवादमा मुछिएनन् । ‘जिसीको काज सरुवा भनेको तस्करीको लाइन चलाउनेदेखि लिएर अपराधमा संलग्नलाई छाड्नका लागि सरकारमा रहेको दलका नेताबाट आउने दबाबलाई नमान्दाको परिणाम हो,’ उनले भने, ‘कुनै प्रलोभनमा नपरिकन सफलतापूर्वक काम गर्ने प्रहरी अधिकृतलाई अन्ततः अन्यायमा पारियो ।’

यसैबीच एसपीहरु रामेश्वरप्रसाद यादव, राजन अधिकारी, ऋषिराम कँडेल र मनोजकुमार यादवको पनि काज सरुवा भएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाका एसपी रामेश्वरप्रसाद यादवलाई सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा खटाइएको छ ।

सिन्धुपाल्चोकबाट राजन अधिकारीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गण्डकी प्रदेश प्रहरी गण मुख्यालयका ऋषिराम कँडेलको पश्चिम नवलपरासी तथा पश्चिम नवलपरासीका मनोजकुमार यादवको गण्डकी प्रदेश प्रहरी गण मुख्यालय काज सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्