महिला नेतृत्वमा आए मात्र महिलाको समस्या समाधान : उपप्रमुख भण्डारी


उर्लाबारी, १४ चैत । उर्लाबारी नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी भण्डारीले महिला नेतृत्वमा आए मात्र महिलाको समस्या समाधान हुने बताउनु भएको छ। उहाँले महिलाले सिकेको सिपलाई उत्पादनमुखी बनाउन आग्रह गर्नुभएको छ।

सोमबार पाथीभरा घरेलु उत्पादन तथा प्रशिक्षण केन्द्रले वडा नम्बर ५ को वडा स्तरीय बजेटबाट ब्याग, सपिङ झोला (पेपर ब्याग, पेपर सपिङ्ग झोला) निर्माण घुम्ती तालिमको समापन कार्यक्रममा उहाले सो कुरा बताउनु भएको हो। कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको उप प्रमुख भण्डारीले यस आर्थिक बर्षमा महिलाको क्षेत्रमा नगरबाट ३८ लाख बजेट छुट्टिएको समेत जानकारी गराउनुभएको छ ।

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष भानुभक्त शर्मा पराजुली, उद्योग वाणिज्यका अध्यक्ष शेरबहादुर भण्डारी, नेपाल उद्यमशील महिला महासंघका केन्द्रीय उपाध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति केन्द्रीय सदस्य रूपा श्रेष्ठ, वडा सदस्य रविन लामा लगायतले मन्तब्य राख्नु भएको थियो । तालिममा मन्दिरा कार्की, कल्पना ढकाल र सुधीरा थापा कार्कीले प्रशिक्षण दिनुभएको थियो ।वडा नम्बर ५को झुम्रा, सिसौली र वडा कार्यालयमा भएको घुम्ति तालिममा ३२जनाको सहभागीता रहेको थियो । पाथिभरा घरेलु उत्पादन तथा प्रशिक्षण केन्द्रको अध्यक्ष भागिमाया भट्टराईको अध्यक्ष्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष कबिता श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो । ५ नम्बर वडा कार्यालयमा भएको कार्यक्रममा संस्थाको सचिव धनमाया वनेमले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्