मदन भण्डारी अस्पतालको विकाशमा सबै दल र नागरिक समाज एकजुट हुनुपर्छ


उर्लाबारी, ११ चैत । प्रदेश नं. १ का स्वास्थ्य मन्त्री जयराम यादवले उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको विकाशका लागि सबै दल र नागरिक समाज एकजुट भएर लाग्नुपर्नेमा जोड दिनु भएको छ ।

आज दिउँसो सो अस्पतालको निरीक्षणपछि अयोजित कार्यक्रममा बोल्दै उहाँले यस ट्रमा सेन्टर प्रदेशकै गहनाको रुपमा रहेकाले यसलाई विकाश गर्न चुनौती भन्दा पनि अवसर रहेको बताउनुभयो । संबिधानले नै स्वास्थ्यलाई मौलिक हकको रुपमा राखेकाले हरेक नागरिकको स्वास्थ्य उपचार पाउने अधिकारलाई प्रत्याभुत गराउन पनि उर्लाबारीको मदन भण्डारी अस्पताललाई विकाश गर्नु आवश्यक रहेको बताउनुभयो । प्रदेश सरकारको श्रोत साधन र बजेटले भ्याए सम्म अस्पतालमा उपकरण र जनशक्तिको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा ट्रमा सेन्टरका मेडिकल सुपरिटेण्डन्ट डा. रबिकुमार शाहले चालु आव २०७८/७९ र आगामी आव २०७९/८० का लागि आवश्यक बजेट तथा कार्यक्रमका लागि माग पत्र मन्त्री यादवलाई हस्तान्तरण गर्नुभएको थियो । अस्पतालमा ओपिडि भवन निर्मण तथा मेसिनरी औजार खरिद, एन.आइ.सि.यु सेट, ओ.टि. भवन निर्माण, विशेषज्ञ र फिजिसियन एक/एक जना चिकित्सक, एचडियु, आईसियु र एसएनसियु सेवा संचालनका लागि कम्तीमा ५ जना मेडिकल अधिकृतको व्यवस्था गरिदिन मन्त्री यादव समक्ष माग गरिएको थियो ।

कार्यक्रमका सभापति तथा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका अध्यक्ष नरेश पोखरेलले ५० शैयाको अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्न मन्त्रीसमक्ष माग गर्नुभयो । उहाँले अस्पताल सञ्चालक समितिमा विभिन्न पार्टीका प्रतिनिधि भएपनि अस्पताल सञ्चालन गर्ने विषयमा राजनीति घुस्न नदिएको बताउनुभयो । कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधि, सरोकारवाला तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्