रुपेश खतिवडा : अखिलको साधारण सदस्यदेखी एमाले जिल्ला सचिवसम्म


उर्लाबारी । रुपेश खतिवडा नेकपा एमाले बृतमा मात्र होईन आम जनमानसमा चीर परिचित नाम हो। २०४५ सालमा मोरङको साविक राजघाट गाबिस वार्ड नं. ३ हाल उर्लाबारी नगरपालिका ८ मा अवस्थित अरनिको मावि दुर्गापुरीबाट स्कुले जीवनमा अनेरास्वबियु मावि कमिटीको सदस्यताबाट सुरु भएको खतिवडाको कम्युनिष्ट राजनीति हाल एमालेको मोरङ जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हाल्दै सशक्त रुपमाअघिबढिरहेको छ। बिद्यार्थी जिवनमा अनेरास्वबियुको राजनीति गर्नुभएका खतिवडा जिल्लामा एक निस्ठावान प्रखर राजनितिज्ञका रुपमा समेत परिचित हुनुहुन्छ ।

बुवा दिनेश्वर र आमा चेतकुमारी खतिवडाका कान्छा सुपुत्रका रुपमा २०३० साल मंसिर २३ गते साविक कुरुले तेनुपा १ धनकुटामा जन्मिएका खतिवडा उर्लाबारी नगरपालिका ८ मा स्थायी घर भइ हाल विराटनगर महानगरपालिका ३ मा बस्दै आउनुभएको छ । खतिवडाले त्रिभुवन विश्वबिद्यालय किर्तिपुरबाट व्यवस्थापन विषयमा र राजनिति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । २०४५ सालमा अनेरास्वबियुको साधारण सदस्य लिनुभएका खतिवडा त्यसपछि अनेरास्वबियु दमक बहुमुखी क्याम्पसको सिफ्ट कमिटी सचिव, प्रारम्भिक कमिटी सचिवालय सदस्य, अनेरास्वबियु त्रिभुवन विश्वबिद्यालय कमिटी सहसचिव, स्वबियु सहसचिव पदको उम्मेद्वार, विश्वबिद्यालयमा अनेरास्वबियुको उपाध्यक्ष र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुनु भएको थियो ।

२०५२ सालदेखी ०५४ सालसम्म उहाँले प्रजातन्त्रिक राष्ट्रिय युवा संघ क्षेत्र नम्बर २ को उपाध्यक्षको जिम्मेवारी समेत पुरा गर्नुभएको थियो । २०५९ सालमा उहाँ अनेरास्वबियुको केन्द्रीय सदस्य र आर्थिक विभाग सचिव हुँदै त्रिभुवन विश्वबिद्यालमा स्वबियु सचिव निर्वाचित हुनुभएको थियो । पुनः अनेरास्वबियुको केन्द्रीय सदस्य र लेखापरीक्षण कमिटी प्रमुख हुँदै उहाँ त्रिभुवन विश्वबिद्यालयमा स्वबियु सभापति पदको उम्मेद्वार, केन्द्रीय सचिवालय सदस्य तथा शैक्षिक विभाग प्रमुख हुँदै अध्ययनका क्रममा काठमाण्डौमा रहँदा नेकपा एमाले विद्यार्थी विशेष जिल्ला कमिटी काठमाण्डौँको सदस्य हुनुभएको थियो ।

२०५७ बाट एमाले पाटीको सदस्य रहेका खतिवडाले २०६२/६३ को जनआन्दोलनमा एमालेको किर्तिपुर सचिव र संयुक्त जनआन्दोलन सर्वदलीय समिति किर्तिपुरको सदस्य भएर आन्दोलनलाई सफल बनाउन उहाँले नेतृत्वदायी भुमिका खेल्नुभएको थियो । २०६५ सालदेखी २०७८ मंसिर ३० सम्म एमाले जिल्ला कमिटी मोरङको सचिवालय सदस्य, कार्यालय उपसचिव, विद्यार्थी फाँट इन्चार्ज, ७ नम्बर निर्वाचन क्षेत्र इन्चार्ज, मोर्चा संगठन प्रमुख, स्कुल विभाग प्रमुखको जस्ता गहन जिम्मेवारी सफलतापुर्वक बहन गरिसक्नुभएको छ। २०७८ पुस १ गतेदेखी उहाँ एमाले जिल्ला कमिटी मोरङको सचिवमा सर्वसम्मत निर्वाचित भएर जिम्मेवारी बहन गर्दै आउनुभएको छ ।

खतिवडालाई २०६१ साल माघ १९ गतको शाही कदमपछि प्रहरीले २०६२ बैशाख ५ गते किर्तिपुर डेराबाट राती साढे १० बजे पक्राउ गरी एक महिनासम्म हिरासतमा राखेको थियो । विद्यार्थी आन्दोलनमा मात्र होइन देश परिवर्तनका आन्दोलनमा सँधै अग्र मोर्चामा रहने खतिवडाले ३ महिना जेल नेल भोगीसक्नु भएको छ। प्रहरी हिरासतमा रहँदा निर्घात कुटपिट र चरम यातना भोग्नुभएका खतिवडा राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघीय उच्चायोगको कार्यालयको दबाबमा ६८ दिनपछि थुनामुक्त हुनुभएको थियो ।

नेपाल सरकारबाट एतेहासिक जनआन्दोलन २०६२/६३ को घाईतेको रुपमा र सर्वदलीय समिति किर्तिपुरबाट उहाँ सम्मानित हुनुभएको थियो । विद्यार्थी कालमा अनेरास्वबियुको साधारण सदस्यदेखी मुलुकको अग्रणी पार्टी नेकपा एमालेको मोरङ जिल्ला सचिव सम्मको जिम्मेवारीमा आउनुभएका खतिवडाको राजनीतिक जिवन सदैव निस्ठा र निरन्तर क्रियाशील हुनका लागि प्रेरणाको स्रोत समेत बन्नसक्छ भन्नु अत्युक्ति नहोला। “जनताका लागि जनताका माझ” भन्ने खतिवडाको सङ्कल्प ले सार्थकता पाओस शुभकामना।

प्रतिक्रिया दिनुहोस्