दमक गोल्डकपमा वाग्मती युथको विजयी शुरुवात


दमक – दमकमा आज ( बुधबार) देखि शुरु भएको दमक गोल्डकपमा वाग्मती युथ क्लब सर्लाहीले विजयी यात्रा शुरु गरेको छ । आयोजक दमक ११ लाई हराएर वाग्मती क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

आयोजक दमक–११ लाई १–० गोल अन्तरले पराजित गर्दै बागमतीले क्वाटर फाइनलको यात्र तय गरेको हो । दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा गोल्डकप भइरहेको छ ।

बागमतीका लागि खेलको ८८ औँ मिनेटमा अनिल राना मगरले पेनाल्टीमार्फत गोल गरे । घरेलु दर्शको साथ पाएको दमकले उत्कृष्ट प्रदर्शन गरेको थियो । बुधबारको खेलको म्यान अफ द म्याच बागमतीका गोल रक्षक मनोज प्रधान भए । उनले दश हजार नगद पुरस्कार पाए । बुधबारबाट सुरु भएको प्रतियोगितामा चारवटा विदेशी टोलीसहित दश टोलीको सहभागिता छ । बिहीबारको खेल दुर्गापुर सन्डे कोलाकाता र गोर्खाब्याइज रुपन्देहीबीच हुने आयोजक दमक नगर खेलकुद समितिका अध्यक्ष भीमराज चम्लागाईंले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने खेल संयोजक मोहन मगरले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य अर्जुन राईले गरेका थिए । १८ गतेसम्म चल्ने प्रतियोगिताको समापन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्