भोलि बिहान ६ बजेदेखि लेटाङको कर्फ्यु हट्ने


लेटाङ, ९ चैत । मोरङको लेटाङमा आइतबारदेखि लगाइएको कर्फ्यु भोलि (बिहीबार) बिहान ६ बजेदेखि हटाइने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बुधबार साँझ एक सूचना जारी गरेर बिहीबार बिहानदेखि कर्फ्यु हटाइने जनाएका छन् ।

लेटाङको शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको विरोधमा हिंसा भड्किँदा आइतबारदेखि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । हिंसाका क्रममा प्रहरी जवान उर्मिला श्रेष्ठको आक्रमणकारीको छुरा प्रहारबाट मृत्युसमेत भएको थियो ।

नेपाल प्रहरीले लेटाङ घटनाको छानबिनका लागि प्रहरी प्रधान कार्यालय, १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन गरेको छ । प्रदेश १ प्रहरी कार्यालयका एसएसपी राजेन्द्र चौधरीको नेतृत्वमा घटनाको छानबिन गर्न समिति बनाइएको छ ।

घटनामा प्रहरी र सर्वसाधारण गरी २८ जना घाइतेसमेत भएका थिए । मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार प्रहरी मुख्यालयको अपराध अनुसन्धान महाशाखासहितको संयुक्त टोलीले घटनाको छानबिन थालेको छ । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिहरूलाई पक्राउसमेत गरेको जनाएको छ । त्यसैगरी, केही सर्वसाधारणलाई समेत सोधपुछका लागि जिल्ला प्रहरी विराटनगरमा ल्याइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्