लेटाङ झडप प्रकरण : आज बिहानैदेखि कर्फ्यू


उर्लाबारी, ७ चैत । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ आसपासमा कर्फ्यू आदेश जारी गरेको छ। मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा आइतबार झडपले उग्ररुप लिएपछि मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा आज सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुञ्जेलसम्म प्रशासनले कर्फ्यू लगाएको हो ।

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न आइतबार खटिएको प्रहरी टोलीमाथि नै आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। झडपपछि स्थिति तनावपूर्ण बनेकाले लेटाङमा बिहानैबाट कर्फ्यू आदेश जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार लेटाङको वडा नं. ३, वडा नं.४ को पश्चिम एरिया गङ्गे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको वडा नम्बर ६ को कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको छ।

लेटाङ नगरपालिका–५ को शिक्षा विकास माध्यमिक विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेललाई पक्राउ गर्न प्रहरी परिचालन भएको थियो। पौडेलले आइतबार एक विद्यार्थीमाथि दुव्र्यवहार गरेको घटना सार्वजनिक भएसँगै आक्रोशित गाउँलेले विद्यालय घेरेका थिए। शिक्षक र भीडलाई नियन्त्रणमा लिन खटिएको प्रहरीलाई आक्रोशित भीडले आक्रमण गर्दा उक्त घटना भएको नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिए।

प्रहरी श्रेष्ठको घाँटीमा भीडले छुरा प्रहार गरेको राईले बताए। छुरा प्रहार गरिएकी उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए। मृतकको शव कोसी अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्