विमल सिटौलाको ‘निर्दोष डेरावाल’ उपन्यास बजारमा


काठमाडौं। विमल सिटौलाद्वारा लिखित बहूप्रतिक्षित उपन्यास आज त्रिभुवन युनिभरसिटिमा एक कार्यक्रमबीच विमोचन भएको छ । निकै लामो समयदेखि बजारमा आउने भनिएता पनि बल्ल आजदेखि मात्र यो उपन्यास बजारमा आएको हो । कीर्तिपुर क्याम्पस, टीयूको परिसरमा रहेको सिनास हलमा बरिष्ट साहित्यकारहरु बीच आज उपन्यास विमोचन भएको हो । प्रा. डा. गोबिन्दराज भट्टराई, अञ्जना वस्ती भट्टराई, साहित्यकार तथा शिक्षाविद् सुरेन्द्र सिटौला, समालोचक महेश पौड्याल र साधना प्रतिक्षा लगायतले उपन्यासको विमोचन गर्नुभएको थियो ।

विधार्थी वर्गको उल्लेख्य उपस्थिति रहेको विमोचन समारोहमा प्रा.डा. भट्टराईले उपन्यासको बारेमा बोल्दै भन्नुभयो, ’लामो वर्षपछि शिक्षा संकायबाट नव साहित्यकारको जन्म भएको छ ।’ कल्पनाशिलता उच्च भएको विलक्षण प्रतिभा विमल सिटौलाको कृतिले उच्च कोटीको रहेको बताउनुभयो । त्यस्तै, समालोचक साधना प्रतिक्षाले ‘निर्दोष डेरावाल’ जानि नसक्नुको रहस्य रहेको बताउनुभयो । साथसाथै, बौदिक चोरीमा आफ्नो पीडा व्यक्त्त गर्न नसकेका आम बौदिक वर्गको पीडालाई उपन्यासले उतारेको बताउनुभयो । यो उपन्यासले उठाएको विषयलाई विद्यार्थीवर्ग साथसाथै अभिभावक, डेरावाल, घरधनी र विश्वविद्यालयका गुरुहरुले समेत गहन रुपमा लिनुपर्ने बताउनुभयो । उपन्यासले साहित्यको मर्मलाई बढो मिठो ढंगले प्रस्तुत गरेको बताउनुभयो ।

त्यस्तै, समालोचक महेश पौड्यालले उपन्यासको बारेमा बोल्दै यो उपन्यास तिलस्मी शैलिमा प्रस्तुत भएता पनि बदनाम भएपछि कसरी निबृति लिने भन्ने प्रश्न हामीमाझ् छाडेको बताउनु भयो । उपन्यास जति बुझ्यो त्यति कठिन, झनझन बुझ्यो झनझन कठिन रहेको बताउनुभयो । उपन्यास डेरा गरी बस्ने सबैको एकताको कथा भएको बताउनुभयो ।

उपन्यासकारले जापानिज राइटर हारुकी मुराकामीको प्रसिद्द उपन्यास ‘1Q48’ को एक अंशबाट प्रभावित भएर उपन्यास जन्मिएको बताउनुभयो । पैरवी बुक हाउसले बजारमा ल्याएको यो उपन्यासमा जम्मा २६० पृष्ठ रहेको छ भने उनन्चास खण्डमा विभाजित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्