ब्रेन क्यान्सर पीडित बालकको परिवारद्वारा सहयोगको याचना


तिलक नेपाली
उर्लाबारी, ६ चैत – ब्रेन क्यान्सर पीडित बालकको उपचारका लागि उनका अभिभावकले सहयोगको याचना गरेका छन् । उर्लाबारी–४ का बलबहादुर बिष्टका १२ वर्षीय छोरा आकाश बिष्टको उपचारमा हालसम्म ८ लाख रुपैयाँ खर्च भएको र थप उपचार गर्न रकम अभाव भएकोले परिवारले सहयोगको अपील गरेको हो ।

२३ दिनसम्म विराटनगरको नोबेल अस्पतालमा उपचार गर्दा उक्त रकम सकिएको र अहिले नोवेलले भरतपुर क्यान्सर अस्पताल रेफर गरिदिएको छ । भरतपुर रेफर गरेपनि परिवारले भने उपचार गर्ने रकम अभावका कारण आकाशलाई घरमै ल्याएको छ । नोबेलमा ब्रेन ट्युमरको अप्रेसन सफल भएपनि पछि ब्रेन क्यान्सर भएको भन्दै अस्पतालले भरतपुर रेफर गरेको आकाशका बुबा बलबहादुरले बताए । ‘आफूसँग भएको र आफन्तबाट सहयोग मागेर अहिलेसम्म उपचार गरियो’ उनले भने, ‘अब अझै कति लाग्ने हो, आफूसँग एक रुपैयाँ पनि छैन ।’ सबैको सहयोग भएमा छोराको उपचार हुने आशा बलबहादुरमा छ ।

यसैबीच, उर्लाबारी–४ का वडासदस्य कल्याणकुमार राईको अगुवाईमा स्थानीय सिसौली र भानुटोलबाट ४१ हजार ८८० रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको छ । सहयोग प्राप्त भएपछि परिवारले आकाशलाई भरतपुर लैजाने तयारी गरेको छ । बिरामीको परिवारको आर्थिक अवस्था कमजोर भएको बताउँदै वडा सदस्य राईले बालकको उपचारमा सहयोगको अपील गरेका छन् ।

स्थानीय भानु आधारभुत विद्यालयको कक्षा ६ मा अध्ययनरत आकाश निको भएर साथीसँगै पढ्न चाहन्छन् तर उनलाई बिमार बाधक बनेको छ । देशविदेशबाट सहयोग प्राप्त भए आफू निको भएर फर्कने उनमा विश्वास छ । सहयोग गर्न इच्छुकले बिरामीका बुबा बलबहादुर बिष्टको फोन नं. ९८१५३१६१०३ मा सम्पर्क गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस्