विद्यार्थीसँग अदालत कार्यक्रम सम्पन्न


भूमिप्रसाद पाठक, पथरी शनिश्चरे, ०१ चैत्र । पूर्वोत्तर मोरङमा नमुना विद्यालयको रूपमा स्थापित श्री पञ्चायत नमुना माविमा कानुन संकायअन्तर्गत अध्ययनरत् कक्षा १२ का विद्यार्थीले मुख्य न्यायालयका मुख्य न्यायधिश तिलप्रसाद श्रेष्ठसँग विद्यार्थीसँग अदालत कार्यक्रम अन्तरक्रियात्मक ढंगले सम्पन्न भएको छ ।

न्याय र न्यायनिरुपणसम्बन्धी उठेका प्रश्नमा आधारित अन्तरक्रियात्मक कार्यक्रममा विद्यार्थी नम्रता सुवेदीले वादी पक्षले मात्र बहस गरेको विषयोपर जिज्ञासा राखेकी थिन् । सँगसँगै अब्बल विद्यार्थी महेन्द्र खातीले बालअधिकार र संविधानतः यसको कार्यान्वयनको सन्दर्भमा आफ्ना अभिव्यक्तिहरू राखेका थिए । उनले फौजदारी अभियोजन र दिवानी संहिताका बारेमा आफ्नो उमेर समुहका मानिसमाथि शतप्रतिशत न्याय हुन नसकेको गुनासो पोखेका थिए ।

विद्यार्थी पार्वती बानियाँले समाजमा बालिका बलात्कृत हुँदै गरेको सन्दर्भउपर जोड दिँदै बालिका बलत्कार भएपछि हुने सामाजिक दुर्व्यवहार र अपराधजन्य घटनाबारे चासो लिएर प्रश्नोत्तरमा भाग लिएकी थिइन् । विद्यार्थी सन्ध्या राईंले गर्भवती महिला र आमाको नामबाट नागरिकता प्राप्तिमा जटिलता रहेको तथ्य उल्लेख गर्दै ती आमाको कोखबाट भएका बालबालिकाले समयक्रममा पाउने सामाजिक न्याय र दण्डबारे प्रश्नोत्तरमा भाग लिएकी थिइन् ।

माथिल्ला जिज्ञासा आधारित जवाफमा मुख्य न्यायाधिश श्रेष्ठले संघीयता कार्यान्यवनको चरणमा भएकोले धेरै कुरा संशोधन हुँदै र थपिँदै गएकोबारे प्रस्ट्याउँदै १८ वर्षमाथिका मानिसबाट जबरजस्तीकरण गरे कडा सजाय हुने, अपराधजन्य भए पनि वा सहमतिबाटै यौनसम्पर्क भए यसलाई बलत्कार कसुरअन्तर्गत सजाय हुने कानुनी व्यवस्था रहेको बताए ।

आजीवन काराबासलाई २० वर्षबाट २५ वर्ष बनाएको र न्यायसम्पादन गर्दा उचित र अनुचित् दसी प्रमाणको आधारमा कारबाही हुने कानुनतः व्यवस्था रहेको खुलाए । अपराध गर्नुका कारणको तह र प्रकृतिअनुसार सजाय हुने व्यवस्था रहेको दर्शाउँदै कतिपय सन्दर्भमा आजीवन सजाय व्यवस्थापनबारे बहस हुँदै गरेको बताए ।
सम्पन्न उक्त कार्यक्रममा विद्यालयको तर्फबाट  भूमिप्रसाद पाठक, प्रमिला न्यौपाने र इन्द्रकुमार लुइँटेलले सहजीकरण गरेका थिए भने अदालतको तर्फबाट रजिस्टार जितेन्द्रबहादुर थपलिया र शाखा अधिकृत ओमराज सुवेदीले सहयोग गरेका थिए । थपलियाकै सहयोगमा विद्यार्थीहरूले विभिन्न विषयगत मुद्दा फाँटहरूको दृश्य अवलोकन गरेका थिए । कार्यक्रममार्फत प्राचार्य अर्जुनकुमार बुढाथोकीले प्रशन्नता जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्