क्याम्पसमा प्रगतिशील समुहको उम्मेदवारी : नेतृत्वमा रामकुमार बस्नेत


भूमिप्रसाद पाठक
पथरी शनिश्चरे नपा, फागुन २८ । शैक्षिक उन्नयन एवम् शिक्षा विकास केन्द्रका रूपमा पथरी शनिश्चरे नगरलाई विकास गर्न चाहने परस्पर शर्त अघि सार्दै पथरी क्याम्पस परिषद् राजनीतिक रंगमञ्चको चुनावको बिम्ब उतार्दै मैदानमा होमिएका छन् । सामुदायिक सम्पदामा देखादेखी राजनीतिक हस्तक्षेप नहुनुपर्ने तर यहाँ भने राष्ट्रिय राजनीतिको प्रभाव छर्लङ देखिएको छ ।

२०७८ फागुन २७–२८ मा आयोजित परिषद् निर्वाचन परिणामलाई हात पार्न नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) बीचको राजनीतिक गठबन्धन यो मैदानमा समेत जस्ताकोतस्तै उत्रिएको छ भने नेकपा (एमाले) सम्बद्ध पंक्ति प्रगतिशील समूहका नाउँमा चुनावको परिणाम हात लिन लागेको यस समुहले आज आयोजना गरेको पत्रकार भेटघाटमार्फत जानकारी हुन आएको छ ।

प्रगतिशील समूहले शहरको सीन भिलेन पार्टी प्यालेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत गठबन्धन पंक्तिले क्याम्पसको निवर्तमान नेतृत्वप्रति लगाएको आरोपलाई चुनाव भाड्ने नियोजित षडयन्त्रका रूपमा लिएको बताएको छ । आफूहरू नेतृत्वमा रहँदा चूँसम्म बोल्न नसक्नेले राजनीतिक रंगमा उत्रिएपछि आरोपप्रत्यारोपमा उभिनुले कुनै अर्थ नराख्ने प्रगतिशील समुहका प्रस्तावित अध्यक्ष रामकुमार बस्नेतले बताए ।

प्रगतिशील समुहको तर्फबाट अध्यक्षका प्रस्तावित उम्मेदवार बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार उपाध्यक्षमा नोवलकिशोर खनाल, दुर्गा दंगाल सुवेदी, अरुणा राई, वर्षा सुब्बा डाँगी, पार्वती भण्डारी विष्ट, तेजबहादुर बुढाथोकी, उद्धवराज बस्नेत, कर्ण गदाल विश्वकर्मा, उमनाथ अधिकारी, प्रदीपकुमार राई, खगेन्द्रप्रसाद लुइँटेल, एकराज निरौला र हर्कराज राईको सञ्चालन समितिमा नेतृत्वको रूपमा नाउँ रहेको छ भने लेखा संयोजकमा डिल्लीराज दाहाल र सदस्यहरूमा दुर्गा सिटौला र कमलबहादुर भट्टराई रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रस्तावित उम्मेदवारमा प्राज्ञिक व्यक्तित्वको प्रतिनिधित्वमा जोड दिएको देखिन्छ भने यो नेतृत्वले पथरी बहुमुखी क्याम्पसलाई स्थानीयवासी हुनुका नाताले गौरव र पथरी शनिश्चरे नगरको गहनाको रूपमा चित्रित गरेको छ । क्याम्पसलाई संस्थागत रूपमा सबल र समृद्ध बनाउन, क्याम्पसको समृद्धि र दिगो विकासका लागि प्राज्ञिक समूहको उपस्थिति बढाउन र तदनुरूप नेतृत्व विकास गर्न, प्रशासकीय एवम् व्यवस्थापकीय दैनन्दिन कामका क्षेत्रमा पारदर्शिता कायम गर्न र सुसाशनका आधार तयार गर्न, विषयगत अध्ययन, अनुसन्धान र शोधपरक शिक्षा केन्द्रका रूपमा पूर्वोत्तर मोरङको शैक्षिक विकास केन्द्रका रूपमा पथरी बहुमुखी क्याम्पसलाई वृद्धि र विकास गर्न, शैक्षिक गुणस्तर प्रवद्र्धनको नयाँ–नयाँ योजनासहित पञ्चायत माविलगायत आसपासका फिडर विद्यालयले विज्ञान सङ्कायमार्फत उत्पादन गरेका विद्यार्थीलक्षित बी.एस्सी. कक्षा सञ्चालनमा ल्याउन, टाढा–टाढाबाट धाउने विद्यार्थीहरूका लागि आवत–जावतको सुगमतालाई ध्यानमा राख्दै क्याम्पसमा बस सुविधा उपलब्ध गराउन, शिक्षा सङ्कायका अतिरिक्त व्यवस्थापन सङ्कायतर्फ सहकारी विषय विषयगत पाठ्यक्रमका रूपमा व्यवस्थापन गर्न, क्याम्पस भवन, परिसर र क्याम्पस हाताभित्रको समग्र भौतिक व्यवस्थापनलाई पूर्ण समय तालिकाअनुसार सञ्चालनमा ल्याउन, विभिन्न कारणले दैनन्दिन कक्षा उपस्थित हुननसक्ने विद्यार्थीका लागि अनिवार्य विद्युतीय उपकरणसहितको कक्षा सञ्चालनमा ल्याउन, स्थानीय सामुदायिक वन, स्कुल, सहकारी सङ्घसंस्था र विषयगत विज्ञ समूहको प्रतिनिधित्व सुनिश्चित गर्दै क्याम्पसको प्रशासन एवम् व्यवस्थापनको पक्षलाई सुदृढ तुल्याउन, क्याम्पसको बृहत्तर हित र विकासका पक्षमा दातृ सङ्घसंस्थासँग पहलकदमी लिन, क्याम्पसका लागि पूर्ववत् गठित अक्षयकोषलाईं चुस्तदुरुस्त व्यवस्थापन गर्न, क्याम्पसमा कार्यरत कर्मचारी, शिक्षक, प्राध्यापकहरूको वृत्तिविकास गर्न, यो विद्याको मन्दिर अक्षुण्ण कायम राख्न आफ्नो उम्मेदवारी अघि सारेको स्पष्ट पारेको छ ।
गठबन्धन उम्मेदवारले लगाएको ओरोपलाई प्रगतिशील समुहका अध्यक्ष बस्नेतले ठाडो स्वरमा अस्वीकार गर्दै यदि त्यस्तो भने विगतमा विभिन्न नाउँ र विषयगत शीर्षकमा भएको फेहरिस्त निवर्तमान कार्यसमिति र त्यसको तर्फबाट विभागीय जिम्मेवारले पेश गर्नुपर्ने बताए ।
परिषद् सदस्य संख्याको अनुपातमा नेतृत्व विकास गर्ने आफूहरूको पटकपटकको प्रयास असफल भएको पत्रकार भेटघाटमा भेटिएका स्थानीय व्यक्तित्व युवराज बास्कोटाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्