रंगेलीमा माओवादी रित्तियो, मेयर उपमेयरसहित सबै जनप्रतिनिधि एमालेमा


मोरङ । मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप अग्रवालसहित माओवादीबाट जितेका सबै जनप्रतिनिधि नेकपा एमाले प्रवेश गरेका छन् । बुधबार रंगेलीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर अग्रवालसहित सबैलाई पार्टीमा स्वागत गरेका छन् ।

सो अवसरमा मेयर अग्रवाल, उपमेयर केशवकुमारी खरेल, वडाध्यक्षहरू महेशकुमार खनाल, महानन्द मण्डल र रामचन्द्र मण्डल एमाले प्रवेश गरेका छन् । अग्रवालसँगै हजारौँ नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको मोरङ एमालेले जनाएको छ । एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्न लागेपछि माओवादी केन्द्रले मेयर अग्रवाललाई कारबाही गरेको थियो । माओवादीले उहाँलाई पार्टीबाट निष्कासन गर्दै दुई महिनापछि रिक्त हुन लागेको मेयर पदबाट हटाउन निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको थियो । तत्कालीन नेकपा विभाजनसँगै अग्रवाल केपी ओली पक्षसँग नजिकिनु भएको थियो ।

मोरङमा पछिल्लो समय एमाले प्रबेश गर्नेको लहर नै चलेको छ ।एमाले मोरङले जिल्लाका सबै वडाका टोल टोलमा पार्टी कमिटी गठन गर्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्