नमुना विद्यालयको विद्यार्थी आफैंंमा नमुना


भूमिप्रसाद पाठक
पथरी शनिश्चरे, फागुन २५ गते । पूर्वोत्तर मोरङको शैक्षिक केन्द्रको रूपमा विकास भइरहेको पञ्चायत नमुना माविको विद्यार्थी समिक्षा तिम्सिनाले चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयअन्तर्गत बी. एस्सी (एजी) को १८ औँ वरियता क्रममा नाउँ निकाल्न सफल भएकी छिन् ।

विज्ञान संकायको पठनपाठन र शतप्रतिशत विद्यार्थी सर्वोत्कृष्ट अंकसहित उत्तीर्ण गराउनमा देशकै सर्वाधिक सफल मानिएको पञ्चायत माविको यो उत्पादन शैक्षिक वर्ष ०७७/७८ का लागि नमुना हो ।
यसरी नै पञ्चायत नमुना माविकै यसवर्ष उत्तीर्ण विद्यार्थीहरू प्रकाश पौडेल, भूवन श्रेष्ठ र मुकेश गौतमले त्रिभुवन विश्वविद्यालयअन्तर्गत इञ्जीनियरिङमा क्रमशः १०७ औँ, १७३ औँ र १९० औँ स्थानमा नाम निकाल्न सफल भएका छन् ।

पूर्ण छात्रवृत्तिमा नाउँ निकाल्न सफल तिम्सिना कक्षा ११ देखि विद्यालयमा अध्ययनरत नियमित विद्यार्थी हुन् भने इञ्जीनियरिङतर्फ नाउँ निकाल्न सफल विद्यार्थी पौडेल, श्रेष्ठ र गौतम विद्यालयमा कक्षा ११ देखि अध्ययन गर्दै आएका नियमित विद्यार्थी हुन् । तिम्सिना पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ स्थायी निवासी नारायण तिम्सिनाकी छोरी हुन् भने श्रेष्ठ ताप्लेजुङ निवासी हुन् भने पौडेल, र गौतम मोरङकै उर्लाबारी निवासी हुन् ।

पछिल्लोपटक उल्लेख्य ढंगले हासिल भएको विद्यार्थीको यो सफलताप्रति खुशीले गद्गद् विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीले पञ्चायत मावि अब चाहिँ साँच्चिकै शैक्षिक विकास र सिकाइ केन्द्रको उत्कृष्ट नमुना बनेको समेत पुष्टि भएको तर्क अघि सार्नुभयो ।
शिक्षकले आफू जलेर अर्कोलाई उज्ज्यालो दिइरहेको हुन्छ । यसमानेमा विद्यार्थीको यो सफलताले आफूहरूको मेहनत समेत सफल र सार्थक भएको विद्यालयका सहायक प्राचार्य बुद्धिनाथ अधिकारीले बताउनुभयो ।

विद्यार्थीको प्रारम्भिक विवरण उपलब्ध गराउँदै विज्ञान संकायका शिक्षक राजु तिम्सिनाले विद्यार्थीको यो नमुना उत्तीर्ण अवस्थाले पथरी शनिश्चरेलाई प्रदेशमै अग्रणी शैक्षिक विकासको केन्द्रको रूपमा परिस्कृत गरेका दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्