५१ सदस्यीय समिति चयन गर्दै अखिल मोरङको अधिवेशन सम्पन्न


विराटनगर । नेकपा एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङ जिल्ला कमिटीको २३ औँ जिल्ला अधिवेशन पदाधिकारी बिनाको ५१ सदस्यीय समिति घोषणा गर्दै सम्पन्न भएको छ ।

हिजो देखि विराटनगर स्थित कञ्चनजङ्घा पार्टी प्यालेसमा सुरु भएको अधिवेशन आज बिहान ५१ सदस्यीय कार्यसमिति सर्व सहमतिमा चयन गर्दै सम्पन्न भएको हो । अध्यक्षका आकांक्षी चार जना भएपछि पदाधिकारी टुङ्गाउन नसक्दा बैठकबाट पदाधिकारी चयन गर्ने गरी अधिवेशन सम्पन्न भएको बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा अनेरास्ववियुका उपमहासचिव भाष्कर खनालले बताउनुभयो ।

निर्वाचन समितिका संयोजक तथा नेकपा एमाले मोरङ मोर्चा फाँट प्रमुख सन्तोष वान्तवाले पदाधिकारी भने यही पुस २९ गते बस्ने बैठकले चयन गर्ने बताउनुभयो । अध्यक्षका लागि जोसेफ घिमिरे, तुलसी घिमिरे, रुपेश खड्का र मिलन घिमिरे आकांक्षी हुनुहुन्थ्यो । ५१ सदस्यीय कमिटीमा ३३ प्रतिशत महिला, आदिवासी जनजाति, दलित, मुस्लिम, मधेसी समेतको समावेशी प्रतिनिधित्व गराउँदै अधिवेशन सम्पन्न भएको हो ।

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य एवम् प्रदेश १ का सहसंयोजक गोकर्ण घिमिरेले सञ्चालन गरेको बन्द सत्रमा अनेरास्ववियुका केन्द्रीय वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडा, अनेरास्ववियुका स्थायी कमिटी सदस्य एकराज दाहाल, अन्जु पाण्डे, मोरङ इन्चार्ज अनिल कार्की, नेकपा एमाले विराटनगर महानगर कमिटीका सचिवालय सदस्य बलराम गिरी नवीन, एमाले महानगर प्रचार विभाग प्रमुख तथा प्रेस चौतारी मोरङका संयोजक सुदिप कोइराला, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्यहरू विजय घिमिरे, आरती भट्टराई, केन्द्रीय सदस्यहरू सन्तोष घिमिरे, सुनिल धिमाल, नवीन निरौला, निता कुलुङ राईलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्