फुटबल प्रतियोगिता : तेस्रो दिनको खेलमा हिमाल युनाइटेड र विराटनगर विजयी
कानेपोखरी, कार्तिक ७ । दोश्रो नकआउट फुटबल प्रतियोगिताको तेस्रो दिन बुधवार सम्पन्न खेलमा हिमाल युनाइटेड फुटबल क्लब र एमटिसी एफसी विराटनगर फुटबल क्लबले जित हात पारेको छ ।
कालीकोशी युवा समाजद्वारा आयोजित प्रतियोगिताको पहिलो खेलमा जाँते फुटबल क्लवलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै हिमाल युनाइटेड फुटबल क्लब, कानेपोखरी ६ बिहिवारेले पहिलो जित हात पारेको हो ।
हिमाल युनाइटेड र जाँते फुटबल क्लबले खेलअवधी भरि आफ्नो टिमका लागि १ – १ गोल गरेका थिए । सोपश्चात् दुवै टिमबाट गोलको प्रयास भएपनि बलले जाली भने चुमाउन सकेन । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । पहिलो खेलबाट हिमाल युनाइटेडका गोलकर्ता पारस राई म्यान अफ दि म्याच घोषित भए।
दोश्रो खेलमा नव प्रतिभा युवा क्लब हरकपुरलाई एमटिसी एफसी विराटनगर फुटबल क्लबले १ का विरुद्ध ८ गोल गर्दै खेल जितेको छ । विराटनगरका लागि अभिनास खवास, जतिन थारु, कमल श्रेष्ठ, गजेन माझी, विपिन परियार गोल गरेका थिए भने हरकपुरका लागि नयम लिम्बूले गोल गोल गरे । दोश्रो खेलबाट म्यान अफ दि म्याच अभिनास खवास चुनिए ।
मोरङ, कानेपोखरी गाउँपालिका ५ क्याम्पसडाँडामा स्थित रमाइलो बहुमुखी क्याम्पसको खेलमैदानमा यस खेल सञ्चालन भइरहेको छ ।
प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार र दोश्रो हुनेले ३० हजार रुपैयाँँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समुहका अध्यक्ष खिलराज भट्टराईले बताए ।
प्रतियोगितामा केचना एफसी, नव प्रतिभा एफसी, दम्का बुधे एफसी, आयोजक, उज्ज्वल भविष्य बाल क्लब, मातृभूमि समाज सेवा, केचना एफसी, दमक एफसी, हिमाल युनाइटेड एफसी, योङ बोइज एफसी, हरकपुर स्पोर्ट्स क्लब लगायत गरि १६ टिम सहभागी भएका छन ।
खेल अवधीभरिबाट समापनको दिन वेष्ट गोलरक्षक, हाई स्कोरर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, अनुशासित खेलाडी, म्यान अफ दि टुनामेन्ट जस्ता विद्यागत पुरस्कार र ट्रफीले पुरस्कृत गरिने आयोजक समितिका अध्यक्ष भट्टराईले सुनाए । हरेक दिन दुई खेल दिनको ठिक २ बजेबाट सुरु हुनेछ । भोलि बिहिवार जहदा एफसी र नव स्पोर्टिङ क्लबका बिच पहिलो खेल र दोश्रो खेल केराबारी र सिद्धार्थ युवा क्लब इटहरीका बिच हुनेछ ।