ससुराको हत्यामा संलग्नलाई भाग्न मद्धत गर्ने महिला पक्राउ


विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मायालु चोकमा ससुराको हत्या गर्ने युवकलाई भाग्न मद्धत गरेको आरोपमा १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पथरीशनिश्चरे–७ की ३० वर्षीया सूष्मा राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए । उनका अनुसार घरभित्रै हत्या गरिएको अवस्थामा ६० वर्षीय चन्द्रबहादुर तामाङको शव गत असोज ५ गते बिहान फेला परेको थियो ।

आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा चन्द्रबहादुरको बीभत्स शव भेटिएको हो । टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेर उनको हत्या गरिएको डीएसपी दाहालले बताए । उनका अनुसार चन्द्रबहादुरको हत्या आफ्नै ज्वाइँ २७ वर्षीय रविन राईले गरेका हुन् ।

घरभित्र सँगै बसेर मादक पदार्थ सेवन गरेपछि सामान्य विवाद भएको र रविनले ससुराको हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि फरार भएका रविन भोलिपल्ट धनकुटाको मूलघाटबाट पक्राउ परेका थिए । तर, ससुराको हत्यापछि उनलाई सूष्माले भाग्न सहयोग गरेको पाइएको जानकारी डीएसपी दाहालले दिए ।

घटनाका बारेमा प्रहरीलाई खबर गर्नुपर्नेमा चुपचाप बसेर उल्टै हत्यामा संलग्नलाई भगाउन भूमिका खेलेका कारण पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको दाहालले बताए । उनका अनुसार सूष्माविरुद्ध कर्तव्य ज्यान कसुरको मतियारका रूपमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्