कोशीमा बाढी पहिरो : १८ जनाको मृत्यु


विराटनगर, १३ असोज। अविरल वर्षासँगै आएको बाढी,पहिरोका कारण कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । बाढी पहिरोका कारण पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा २ र इलाममा १ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले बताए ।

उनका अनुसार धनकुटस्थित तमोर नदीमा दुई जनाको शव भेटिएको छ । तर, उनीहरुको पहिचान खुलेको छैन । बाढी पहिरोमा परेर पाँचथरमा ६, झापामा २ र मोरङमा १ जना बेपत्ता भएको र उनीहरुको खोजी जारी छ। बाढी पहिरोका कारण ६४ वटा पशुचौपाया मरेका छन् । १९ वटा पक्की घर भत्किएको छ, ५८ वटा घरमा आंशिक क्षति पुगेको छ । ५४२ परिवार विस्थापित भएका छन् ।

बाढी र पहिरोका कारण तराइका जिल्ला जोड्ने सडक र पुलमा क्षति पुगेको छ । प्रहरीका अनुसार मेची राजमार्गमा पाँचथर र ताप्लेजुङसँगको सडक सम्पर्क टुटेको छ ।

फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका ७ जोड्ने हेवाखोलाको पुल बाढीले बगाएका कारण ताप्लेजुङसँगको सडक सम्पर्क टुटेको हो । शनिबार बाढीले मेची राजमार्गको बेलिब्रिज बगाएको थियो ।

बाढीले उदयपुरसँग खोटाङ जोड्ने सडक पनि अवरुद्ध भएको छ । सुनकोशी नदीले पक्कीपुल बगाउँदा उदयपुर र खोटाङको सडक सम्पर्क पनि विच्छेद भएको हो । उदयपुरको रौतामाई नगरपालिका– ५ र खोटाङको खेटेहाङ गाउँपालिका– ७ जोडने पक्की पुल सुनकोशीले शनिबार बगाएको थियो। सिद्धचरणलोक मार्ग अन्तरगतको ठाउँठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, संखुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुंगामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्