प्राकृतिक विपद्मा परेर मुलुकभर मृत्यु हुनेको संख्या ४९ पुग्यो


काठमाडौं । प्राकृतिक विपद्मा परेर मुलुकभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । ४० जना बेपत्ता भएका छन् । मृतक र घाइतेको संख्या बढ्नसक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । सबैभन्दा धेरै काठमाडौं, ललितपुर र भक्तपुरमा ३२ जनाको मृत्यु भएको छ । काभ्रेमा १० जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता छन् ।

नेपाल प्रहरीका सहप्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका छन्। सम्पर्कविहीन अर्थात बेपत्ता भएकाहरुको खोजी जारी राखिएको उनले बताए । देशभरिमा ४४ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएको जानकारी अधिकारीले दिए ।

प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ। अहिलेसम्म १ हजारभन्दा बढीको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलले आपतकालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ।

काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ । अर्थात, काठमाडौं उपत्यका सडक सम्पर्क विच्छेदजस्तै भएको छ । पृथ्वी राजमार्गका विभिन्न स्थानमा गएको पहिरोले शनिबार बिहानैदेखि उक्त सडक खण्ड बन्द रहेको छ । काठमाडौं–मुग्लिन–नारायणगढसम्म शनिबार रातभर सवारी चलाउन रोक लगाइएको छ ।

पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने बीपी राजमार्गसमेत अवरुद्ध बनेको छ । उता, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक बन्द भएका छन् । पहिरोका कारण हेटौंडा काठमाडौं जोड्ने लामो तथा छोटा दूरीका सबै मार्ग बन्द भएका हुन् ।

वर्षाका कारण हेटौंडाबाट काठमाडौं जाने कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी कुलेखानी सिस्नेरी दक्षिणकाली काठमाडौं), कुलेखानी फाखेल काठमाडौं, कुलेखानी मातातीर्थ काठमाडौं र त्रिभुवन राजपथ पहिरोले अवरुद्ध भएका छन् ।

उता, अरनिको राजमार्गसमेत अवरुद्ध भएको सडक विभागले जनाएको छ । काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्डका विभिन्न स्थानमासमेत सडक अवरुद्ध भएको विभागले जनाएको छ । सबैभन्दा बढी असर बीपी राजमार्गमा देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्