थारु समुदायको जितिया पर्व कानेपोखरीमा भव्यताका साथ मनाइयो


कानेपोखरी, असोज १० । ‘लैङ्गिक हिंसा नियन्त्रणका लागि सचेतनामुलक’ भन्ने मुल नाराका साथ थारु समुदायको विशेष सांस्कृतिक पर्व जितियाको अवसर पारेर बुधवार मोरङको कानेपोखरी १ स्थित होक्लाबारी सेतेचोकमा ‘जितिया विशेष साँस्कृतिक कार्यक्रम २०८१’ भव्य रुपमा सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष राजमती इङ्नाम लगायत थारु समुदायको महिलाहरुले  ‘जितमहान भगवान’ को पूजाअराधना गर्दै कार्यक्रमको औपचारिक उद्धघाटन भएको थियो ।

थारु समुदायको मौलिक साँस्कृतिक प्रस्तुतीको साथै शुभकामना आदानप्रदान गरेर सो कार्यक्रम भव्य रुपमा मनाइएको हो । विशेषगरि थारु पहिरनमा सजिएर उपस्थित भएका समुदायका मानिसहरु र अतिथिहरुको रौंनक सँगसँगै गायकहरु सुनिल चौधरी, प्रवल दिप विश्वास र सुरेश चौधरीको बेजोड गायन, मोडल बन्दना लिजाको नृत्य र पाण्डपको हाँस्य प्रस्तुतिले उपस्थित दर्शकलाई साँस्कृतिक मनोरञ्जन दिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजमती इङ्नामले हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसंस्कृतीक, बहुधार्मिक छ यस अवस्थामा हामी सम्पूर्णले एकअर्काको पर्व, संस्कृती, परम्परा, पहिचान, पोशाक र भाषालाई सम्मान गर्दै मेलमिलापका साथ अघि बढ्नुपर्ने बताइन् । पालिका भित्र रहेका धर्म, संस्कृतिको संरक्षण र विकासमा सबै मिलेर लाग्नुपर्ने अध्यक्ष इङ्नामको भनाइ थियो ।

शुभकामना दिने क्रममा पालिका उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बोल्दै थारु सँस्कृति जोगाउनु पर्नेमा जोड दिए । हामी सबै जातजातिहरु एकअर्कासँग अन्तरसम्बन्धित रहेको र हाम्रा संस्कृती, रितिरिवाज र परम्पराहरुलाई एकअर्काले नै जोगाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने कुरा व्यक्त गरे ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले कार्यक्रमको सफलताको शुभकामना दिदैँ जितिया पर्व जस्ता जातिगत पर्वहरुले समुदाय-समुदाय बिचको सम्बन्ध प्रगाढ बनाउने काम गरेको लगायतका विषयबारे कुरा राखेको थिए ।

`जितिया विशेष साँस्कृतिक कार्यक्रम—२०८१’ मा उपस्थित अतिथि, कलाकार र सहभागीहर लगायतलाई थारु समुदायको मौलिक खानपिन खुवाइएको थियो । समुदायले खाने गरेको बिशेष प्रकारको रोटी, जेरी, तरकारी लगायतका खाना प्रदान गरिएको थियो । कार्यक्रममा आयोजकद्वारा सोही पालिकामा रहेका ४ वटा सामुदायिक विद्यालयहरुबाट एसइईमा राम्रो नतिजा ल्याउन सफल जनसेवा माविका १, शिक्षा विकासका ३, शिक्षा सदनमा ३ र श्री माविका १ गरि ८ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरिएको पनि आयोजक समितिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

थारु कल्याणकारिणी सभा कानेपोखरी गाउँ समितिको आयोजना र कानेपोखरी गाउँपालिकाको सहयोगमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता आयोजक समितिका पदाधिकारी दुखीलाल चौधरीले गरेका थिए भने कार्यक्रममा थारु कल्याणकारिणी सभा केन्द्रिय उपसभापति कन्नुलाल चौधरी, थारु कल्याणकारी सभा केन्द्रिय पार्सद लछुमन चौधरी, जिल्ला सदस्य रखिलाल चौधरी, पालिका प्रमुख प्रशासकिय अधिकृत हिरा कुमारी यादव, वडा अध्यक्षहरु रत्न बहादुर कार्की, सुशील बुढाथोकी, नेपाल जनजाति आदिवासी महासंघ मोरङ जिल्ला वरिष्ठ उपाध्यक्ष भोजबिर माझी, कोशी प्रदेश सिएच आइटिएफ अध्यक्ष युवराज भुजेल, नेपाल आदिवासी जनजाति महासंघ कानेपोखरी सभापती खुल्लु राजवंशी, धिमाल जातीय विकास केन्द्र कानेपोखरी अध्यक्ष प्रकाश धिमाल, जनएकता साकोसका अध्यक्ष त्रिभुनाथ फुयल लगायतको उपस्थिति रहेको थियो ।

थारू समुदायमा विशेष मानिने जितियाको उपवास बस्ने महिलाहरू सन्तान तथा सौभाग्य समृद्धिको निम्ती जितमहान देवतालाई समर्पण गरी फलफूलले डाली भर्ने , कथा सुन्ने गरिन्छ । केराको पातमा दही च्यूउरा , फलफूल चढाएपछि घिरौलाको पातबाट शुरू भएको जितिया पातमा गएर सम्पन गरिने चलन रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्