दुर्घटनामा परी निधन भएकाहरुको सम्झनामा उर्लाबारीमा शोक सभा


उर्लाबारी – बुधबार काठमान्डौमा विमान दुर्घटनामा परी निधन भएकाहरुको सम्झनामा उर्लाबारी वडा नम्बर ८ स्थित दुर्गापुरीमा शोक सभा गरिएको छ । हिजो विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराको लागि उडान भरेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ठूलो धनजनको क्षतिप्रति उर्लाबारी इनोभेटिब युथ क्लब, उर्लाबारीले बिहिबार साँझ दुर्गापुरी चोकमा मैनबति बालेर मृतकको आत्माको चीर शान्तिको कामना गरेको छ ।

युथ क्लबको आयोजनामा आज साँझ ७ बजेबाट शुरु भएको शोक सभामा राष्ट्रिय युवा संघ नेपाल उर्लाबारी नगर कमिटीका संयोजक नितम चौहान, नेपाल विद्यार्थी संघ उर्लाबारी नगर समितीका सभापति अर्बिन्द घिमिरे, सुनगाभा बोर्डिङका सहायक प्रधानाध्यापक केशव घिमिरे, उर्लाबारी जेसिजका महासचिव रन्जित श्रेष्ठ, समाजसेवी बलबहादुर घिसिङलगायत स्थानिय समाजसेवी र क्लवका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

चोकमा आयोजना गरिएको सो कार्यक्रममा हार्दिक श्रद्धाञ्जली लेखिएर मैनबति बालिएको थियो भने पचासौंको संख्यामा उपस्थित भएकाहरुले दीप प्रज्वलन गरी मौन धारण गरेका थिए ।
विमान दुर्घटना र बस दुर्घटनामा परि ठूलो सख्यामा निधन भएकाहरुको सम्झनामा चीर शान्तिको कामना गरिएको र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभका कामना गरिएको क्लवका अध्यक्ष प्रविन घिमिरेले बताए ।

बुधबार विमान दुर्घटनामा परी १८ जनाको ज्यान गएको थियो भने एक जना गम्भिर घाईते भएका थिए । यस्तै गत असार २८ गते चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सिमल तालमा आएको लेदोसहितको पहिरोले दुई वटा बस त्रिशुली नदीमा खस्दा ६५ जना यात्रु वेपत्ता भएका थिए भने ३ जना बाँच्न सफल भएका थिए । उनीहरुको खोजी र उद्धार कार्य जारि रहेको छ । क्लवका अध्यक्ष घिमिरेको सभापतित्वमा सम्पन्न उक्त शोक सभाको संचालन क्लवकी सचिव गरिमा ढुङ्गानाले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्