केराबारीमा मदन भण्डारी राजमार्गको क्षेत्राधिकार अधिकतम २० मिटर तोक्न प्रधानमन्त्री ओली समक्ष आग्रह


विराटनगर – मोरङको केराबारी क्षेत्रमा मदन भण्डारी राजमार्ग सञ्चालनमा देखिएका समस्या र खोर्साने केराबारी– सिंहदेवि सडक निर्माण कार्य छिटो सम्पन्न गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आग्रह गरिएको छ ।

नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष तथा सो क्षेत्रका पूर्व प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाको नेतृत्वमा गएको टोलीले नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मदन भण्डारी लोकमार्गले केराबारी गाउँपालिकाको मुख्यबजार हुदै करिव १३ किलोमिटर सडक क्षेत्र ओगटेको र सो क्षेत्रका स्थानीयवासीहरुको आर्थिक विकासमा विशेष महत्व रहेककाले आयोजना सञ्चालनमा देखिएका समस्या तथा तथा जनचासोको विषय समाधानका लागि प्रधानमन्त्री ओली समक्ष आग्रह गरेको हो ।

नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट मदन भण्डारी सडक क्षेत्राधिकार ५० मिटर हुने उल्लेख भएको साथै सडक मापदण्ड २०७० बमोजिम सडकको वर्गिकरण अनुसार राष्ट्रिय राजमार्गका लागि ५० मिटर हुने व्यवस्था भएपनि केराबारी बजार क्षेत्रमा सो अनुसारको सडक क्षेत्राधिकार कायम रहदा बजार क्षेत्रका अधिकांश घरहरु सडक क्षेत्र भित्र पर्ने देखिएको र नयाँ घरनक्सा निर्माण प्रकृया समेत ठप्प भएको अवस्था रहेको गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले प्रधानमन्त्री ओलाी समक्ष बुझाईएको पत्रमा उल्लेख छ । पत्रमा भनिएको छ,‘नेपाल सरकार मन्त्रिपरिषद्वाट केराबारी गाउँपालिका क्षेत्रभित्र सडकको क्षेत्राधिकार अधिकतम २० मिटर तोक्न आवश्यक पहल गरिदिन अनुरोध छ ।’

केराबारी गाउँपालिका खण्डमा निर्माणाधिन मदन भण्डारी करिव सम्पन्न हुने चरणमा रहेता पनी बजार तथा वस्ती क्षेत्रमा रहेका विद्युत पोलहरु नहटाएको र सडक क्षेत्रमा पर्ने रुख कटान आदेश हुन नसकेकोले सडक कालोपत्रे गरी निर्माण सम्पन्न गर्ने काम अवरुद्द भएकोले यथाशिघ्र सडक क्षेत्रमा पर्ने विद्युत पोल व्यवस्थापन तथा रुखहरु कटान आदेशका लागि समेत आवश्यक पहल गरिदिन आग्रह गरिएको एमाले प्रदेश अध्यक्ष तथा पूर्व सांसद खतिवडाले जानकारी दिनुभयो ।

यसैगरि नेपाल सरकार सहरी विकास मन्त्रालय अन्तर्गत ग्रामिण सडक सन्जाल सुधार आयोजना ९आरसीआईपी० चिनियाँ निर्माण व्यवसायीवीच २०७६ साउनमा २ वर्षभित्र खोर्साने केराबारी– सिंहदेवि सडक निर्माण कार्य सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको र पछी म्याद थप भई ०८० असार ३० सम्म रहेको भएपनि हाल ६ वर्ष वितिसक्दा समेत कार्य प्रगति न्युन रहेको साथै ठेकेदार कम्पनीलाई हालसम्म कुनै कार्यवाही हुन नसकेको हुँदा उक्त सडक क्षेत्रका उपभोक्ता र आम नागरिकहरु दुखित भएकाले उक्त आयोजना शिघ्र सम्पन्न गर्न आवश्यक पहल गरिदिनुहुन अनुरोध गरिएको प्रधानमन्त्री ओलीलाई बुझाईएको पत्रमा उल्लेख छ ।

एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तथा पूर्व सांसद खतिवडाको नेतृत्वमा गएको टोलीमा केराबारी गाउँ पालिका अध्यक्ष सुमन मिरिङ्चिङ, पूर्व जनप्रतिनिधि तथा एमाले नेता डिल्लीराम अधिकारी, केराबारी गाउँपालिकाका प्रवक्ता नारायण भुजेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्