उपसभामुख प्रकरण : ९ लाख लेनदेन भएको मुकुलको दावी


काठमाडौं । उपसभामुख इन्दिरा राना मुछिएको विवादमा रास्वपाका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले मुख खोलेका छन् । दुतावासलाई लेखिएको पत्र तीन महिना अगाडि नै आफूलाई प्राप्त भएको र आफूले छानबिन समेत गरेको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ढकालले उपसभामुखको सचिवालयले आर्थिक लेनलेन गरेको आरोपसमेत लगाएका छन् । ढकालका अनुसार गत वैशाख ४ गते पार्टीका संगठन विभाग प्रमुख शंकर श्रेष्ठले उनलाई सो पत्र फरवार्ड गरेका थिए । पत्र पाएपछि आफूले पार्टीका जिम्मेवार नेताहरूलाई जानकारी गराएको र उपसभामुखसित सोधपुछसमेत गरेको ढकालले बताएका छन् । रानाले यस विषयमा आफूलाई थाहा नभएको जवाफ दिएको ढकालको दावी छ ।

गृह मन्त्रालय अन्तरगतको अध्यागमन विभाग मार्फत बुझ्दा पत्रमा नाम उल्लेख भएका व्यक्तिहरू विदेश नउडेको पाइको उनी बताउँछन् । ढकालले यस घटनामा आर्थिक लेनदेन भएको बताएका छन् । उपसधामुखको सचिवालयले ९ लाख लिएर पछि फिर्ता गरेको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्