राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीद्वारा विपन्न घर निर्माणमा श्रमदान


कानेपोखरी, वैशाख २ । राष्ट्रिय युवा संघ नेपाल कानेपोखरी गाउँ कमिटी, मोरङले विपन्न परिवार घर निर्माणमा श्रमदान गरेको छ । कानेपोखरी ४, क्याम्पाघाटमा निर्माण हुँदै गरेको १५ वटा घर निर्माणमा श्रमदान गर्न आइतवार युवा संघ नेपाल कमिटी खटिएको हो ।

राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीले आयोजना गरेको श्रमदान कार्यक्रममा राष्ट्रिय युवा संघ कानेपोखरी इन्चार्ज जीवन सुब्बा, अध्यक्ष अनिल परियार, सचिव पवन भट्टराई, युवा संघ मोरङ जिल्ला कमिटि सदस्य अनुप राई, ४ नम्बर एमाले पार्टी अध्यक्ष उमेश पौडेल, वडाका प्रतिनिधि लगायत गरि ३० जनाको समुह उपस्थित रहेको थियो ।

क्याम्पाघाटमा निर्माणाधीन घरहरू कानेपोखरी गाउँपालिकाको रु.१ करोड र साहारा नेपाल मार्फत ह्याबिटेट फर ह्युमानिटी नेपालको ४० लाख गरी कुल १ करोड ४० लाख रुपैयाँ लागतमा बन्दै गरेको हो । पालिका अध्यक्ष राजमती इङ्गनामका अनुसार वडा नं. १ मा थप १३ वटा घर निर्माण हुने छ । साथै कानेपोखरी गाउँपालिका, ह्याबिटेट फर ह्युमानिटी नेपाल र साहारा नेपाल बिचको त्रिपक्षीय साझेदारीमा वडा नं.३ स्थित राजगनमा बरन्डासहितको ३ कोठे घर र शौचालयसहितको ३० वटा घर निर्माण भइसकेको छ । अध्यक्ष इङ्गनामका अनुसार ह्याबिटेट नेपालको रु.६० लाख, कानेपोखरी गाउँपालिकाको रु.६६ लाख ४५ हजार र रु.२५ लाख ९ हजार बराबरको श्रमदानसहित जम्मा रु.१ करोड ५२ लाख बराबरको घर निर्माण कार्य सम्पन्न भइसकेको हो ।

गाउँपालिकाले जीर्ण अवस्थामा रहेको घर र घर नभएको ८६ विपन्न परिवारलाई घर प्रदान गर्दै छ । ३८ परिवारको लागि घर निर्माण भइसकेको छ भने १५ वटा घर निर्माणाधीन रहेको र ३३ घरको निर्माण कार्यको तयारीमा रहेको छ । कानेपोखरी वडा नं.४ स्थित क्याम्पाघाटमा १५ परिवारको लागि अहिले टिनको छानो, सिमेन्टको बल्क प्रयोग भएको, बरन्डासहितको २ कोठे घर, छुटै भान्सा घर र शौचालयसहितको चिटिक्कको घर निर्माण कार्य भइरहेको हो ।

 

प्रतिक्रिया दिनुहोस्