गुणस्तरीय शिक्षा : बेग्लै पहिचान बनाउँदै नेपाल आदर्श बोर्डिङ


उर्लाबारी : उर्लाबारीमा दुई दर्जनभन्दा बढी निजी विद्यालयको भीडमा गत वर्षमात्र उदाएको नेपाल आदर्श इङ्लिस सेकेण्डरी स्कुलको शैक्षिक प्रगतिले सबैलाई लोभ्याएको छ । ‘सुपथ शुल्क, गुणस्तरीय शिक्षा’ को योजनाले नेपाल आदर्श छोटो अवधिमै अब्बल सावित भएको छ ।

शिक्षा क्षेत्रमा दशकौंको अनुभव बटुलेका टिमबाट सञ्चालित भएका कारण पनि यस विद्यालयका विद्यार्थी र अभिभावकले नयाँ विद्यालयको अनुभूति गर्नुपरेको छैन । गत शैक्षिक सत्र २०७७ देखि विद्यालयको पठनपाठन सुरु भएको हो । स्थापनाको दोस्रो शैक्षिक वर्षमै नर्सरीदेखि कक्षा १० सम्म ४१९ जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको शैक्षिक स्तर उकास्नका लागि गरेको अथक मेहनतले सफलता हासिल गर्दै गएको प्रिन्सिपल सविना कार्की बताउनुहुन्छ ।

‘सैद्धान्तिकभन्दा व्यवहारिक शिक्षालाई प्राथमिकता दिएका छौं’ उहाँले भन्नुभयो, ‘बढीभन्दा बढी प्रयोगात्मक कक्षा सञ्चालन गरेका छौं ।’ सुविधासम्पन्न कम्प्युटर र विज्ञान प्रयोगशाला, मल्टिमिडियाको प्रयोगले विद्यार्थीमा सिकाइप्रतिको रुचि बढाउँदै आएको छ । विद्यार्थीका गतिविधिको निगरानी गर्न प्रत्येक कक्षाकोठामा सीसी क्यामेरा जडान गरिएको छ ।

सुविधासम्पन्न भवन, पर्याप्त कक्षाकोठा, खेलमैदान, खेलकुद सामग्री, ५ सय जना अटाउने सभाहल, स्कुल बसको व्यवस्था नेपाल आदर्शका विशेषता हुन् । छोटो अवधिमै अभिभावक र विद्यार्थीको मन जित्न सफल यस विद्यालयले विद्यार्थीलाई दिने सेवा सुविधामा कुनै कमी हुन नदिने प्रिन्सिपल कार्की बताउनुहुन्छ ।
नर्सरीदेखि कक्षा २ सम्म कक्षा शिक्षण र कक्षा ३ देखि माथि विषय शिक्षण गराउँदै आएको विद्यालयका कोअर्डिनेटर भूपाल काफ्लेले बताउनुभयो । लामो समयको अनुभव प्राप्त गरेका शिक्षकशिक्षिकाहरुको संलग्नताले पनि विद्यालयको शैक्षिक विकासमा सहयोग पुगेको उहाँ बताउनुहुन्छ । ‘कक्षा शिक्षणमा मन्टेश्वरी तालिमप्राप्त शिक्षकशिक्षिका हुनुहुन्छ’ काफ्लेले भन्नुभयो, ‘क्याम्पस अध्यापन गराउने लामो समयको अनुभव संगालेका शिक्षकहरुबाट कक्षा १० सम्म पढाइ भइरहेको छ ।’ प्रिन्सिपल कार्की स्वयम् समाजशास्त्र र अंग्रेजीमा स्नातकोत्तर साथै वीएन गर्नुभएको छ । दशकौंको शिक्षण अनुभव बटुल्नु भएको छ । उहाँको नेतृत्वमा विद्यालयको टिमले सहजताका साथ कार्य सम्पादन गरिरहेका छ । हाल विद्यालयमा २७ जना शिक्षकशिक्षिका र ९ जना कर्मचारी कार्यरत छन् ।

यस क्षेत्रको नमूना निजी विद्यालय बनाउने उद्देश्य रहेपनि कोभिड १९ महामारीले असर पारेको विद्यालय सञ्चालक समितिका अध्यक्ष केपी शिवाकोटीको भनाई छ । ‘विद्यार्थीको सर्वाङ्गीण विकासमा हामी प्रतिबद्ध छौं, महामारीका बाबजुद धेरै सुविधा दिएका छौँ’ उहाँले भन्नुभयो, ‘शैक्षिक विकासमा सेवा सुविधा थप गर्दै लैजाने योजना छ ।’ सुपथ शुल्कमा गुणस्तरीय शिक्षाले अभिभावक पनि सन्तुष्ट छन् ।

विद्यार्थीको चौतर्फी विकासका लागि पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि नेपाल आदर्शले जोड दिँदै आएको छ । विद्यार्थीहरुलाई विभिन्न सदनमा विभाजन गरी हाजिरीजवाफ, वक्तृत्वकला, मेन्टल म्याथ, गायन, नृत्यलगायत प्रतियोगिता, खेलकुदका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको कोअर्डिनेटर भूपाल काफ्लेले बताउनुभयो । अहिले कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएपनि भर्चुअल माध्यमबाट पढाइ भइरहेको छ । जुनसुकै माध्यमबाट भएपनि विद्यार्थीलाई सिकाइमा सहभागी गराउन विद्यालयले तत्परता देखाएको छ ।

यसैबीच, नजिकिएको सरस्वती पूजाको दिन नेपाल आदर्श स्कुलले विद्यार्थीलाई निःशुल्क भर्ना गराउने जनाएको छ । ‘सरस्वती पूजा अक्षराम्भ गर्ने दिन हो, यो दिन भर्ना हुने कुनैपनि विद्यार्थीलाई हामी शुल्क लिँदैनौं’ प्रिन्सिपल सविना कार्कीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्