उर्लाबारीमा भूमि आयोगको अन्र्तरक्रिया


उर्लाबारी , १९ माघ । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासलाई पुर्जा बितरण गर्ने लक्ष्यका साथ आयोग गठन भएको बताउनुभएको छ । राष्ट्रिय भुमि आयोग मोरङ जिल्ला समितिले उर्लाबारी नगरपालिकामा आयोजना गरेको पालिका स्तरिय सहजिकरण समितिको अन्तर्कृया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको उहाले विगतको आयोगले गरेका कामलाई पूर्णता दिने बताउनु भएको छ । राष्ट्रिय भुमि आयोगले स्थलगत अनुगमनका लागि केन्द्रबाट काम गर्नका लागि मोरङमा २१ जना अमिन पठाइसकेको निरौलाले बताउनु भएको छ ।

त्यस्तै राष्ट्रिय भूमि आयोग केन्द्रीय सदस्य सरिता महर्जनले पहिले नियुक्ति भएका सर्वेक्षक र अमिनलाई नै आयोगले पुर्ननियुक्ति दिएको बताउनुभएको छ । उहाँले उर्लाबारी नगरपालिकामा एकजना सर्वेक्षक र दुईजना अमिन आयोगले पठाउने बताउनुको छ । उहाँले आयोगले धार्मिक, साँस्कृतिक क्षेत्र, सार्वजनिक जग्गा , नदी, वन क्षेत्र, स्थानीय तहका लागि आवश्यक ठानी राखिएको जमिन, सरकारी स्वामित्वमा रहेको जग्गा बितरण गर्न नसक्ने बताउनु भएको छ ।
राष्ट्रिय भूमि आयोग जिल्ला अध्यक्ष सुशीला घिमिरे सामनाले मोरङ्ग जिल्लाको ६ वटा पालिकामा भूमि सम्बन्धी काम अघि बढिरहेको बताउनुभएको छ । उहाँले आयोगको पहिलो प्राथमिकतामा भूमिहीन दलित दोस्रो प्राथमिकतामा भूमिहीन सुकुम्बासी र तेस्रो प्राथमिकतामा अवस्थित बसोबासलाई राखिएको बताउनु भएको छ ।

कार्यक्रममा उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारीले उर्लाबारी नगर भित्र भूमिहीन सुकुम्बासी र भूमिहीन दलित १हजार ६८ रहेको र अव्यवस्थित बसोबास ४हजार ४८ रहेको जानकारी गराउनुभएको छ । उहाँले लगत संकलन कार्य सम्पन्न भइसकेको र कम्प्युटर इन्ट्रीको काम अघि बढिरहेको बताउनु भएको छ । नगरले सर्भेका लागि मेसिनसमेत खरिद गरिसकेको उपप्रमुख भण्डारीले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी नगर अध्यक्ष राजेन्द्र दंगाल, वडा नम्बर ८का वडाअध्यक्ष कुलबहादुर कार्की एकीकृत समाजवादी नगर अध्यक्ष ढकबहादुर थापा लगायतले बोल्नु भएको थियो ।

नगरपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा वडाअध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । उर्लावारी नगरपालिका उपप्रमुख लक्ष्मी देवी भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रम उर्लाबारी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मुरारी प्रसाद घिमिरेले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्