सिरिजंगा स्मृति भलिबल प्रतियोगिता सुरु : सालबारी, एपिएफ र बेलवारीको सुखद सुरुवात


कानेपोखरी, पुस ०८ । सिरिजंगा स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगिता शनिवारबाट सुरु भएको छ ।

उद्घाटन खेल सालबारी युवा क्लब(उर्लाबारी), एपिएफ(इटहरी) र बेलवारी भलिबल क्लब ‘ए’ ले जित निकालेको हो । रानी प्रहरी विराटनगरलाई सालबारीले, उर्लाबारी भलिबल क्लबलाई एपिएफ इटहरीले र एभरेष्ट बोर्डिङ स्कुल पथरीलाई बेलवारी भलिबल क्लब’ए’ ले हराएको हो ।

नगर उपमेयर देवीमाया काफ्लेले खेलको उद्घाटन गरेकी थिए । सो कार्यक्रममा वडा अध्यक्ष जीवन खतिवडा, नगर खेलकुद समिति अध्यक्ष दिपक राई, आयोजक संस्थाका पदाधिकारीहरु लगायतको उपस्तिथि रहेको थियो । मोरङको पथरी शनिश्चरेमा लिम्बू समुदायको महान पर्व चासोक तङ्नाम २०८०, येले तङ्बे ५०८३ अवसरमा भलिबल प्रतियोगिता गराइएको खेल सयोजक रोशन मादेम्बाले जानकारी दिए ।

१० वटा टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ४० हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन । दोश्रो पुरस्कारको प्रायोजन पथरी शनिश्चरे १ निवासी समाजसेवी स्व. जहरमान थलङ्ग लिम्बूको सम्झनामा थलङ्ग परिवारले गरेको हो । धनुष काँड हान्ने, छेलो, भाले जुधाई, डोरी तान्ने, लङ जम्प लगायतको खेलकुद प्रतियोगिता सञ्चालन हुनेपनि आयोजक समितिका सदस्य सचिव बिक्रम लिम्बूले जानकारी दिए ।

किराँत याक्थुङ चुम्लुङ र सिरिजंङ्गा स्मृति धार्मिक वन समूहको संयुक्त आयोजनामा पुस ७ गतेदेखि १० गतेसम्म ४ दिन धार्मिक वन परिसरमा कार्यक्रम सञ्चालन हुने आयोजक समितिका संयोजक डम्बर चोङ्बाङ्ग लिम्बूले जानकारी दिए । लिम्बूले सो अवसरमा ऐतिहासिक खेलहरु, लिम्बू समुदायको साँस्कृतिक नृत्यहरु सहित मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन हुने सुनाए ।

 

प्रतिक्रिया दिनुहोस्