पथरी शनिश्चरेमा चासोक तङ्नाम भव्य रुपमा मनाइदैं : ४ दिने मेला लाग्ने


कानेपोखरी, पुस ०४ । मोरङको पथरी शनिश्चरेमा चासोक तङ्नाम २०८०, येले तङ्बे ५०८३ लिम्बू परम्परा अनुसार भव्य रुपमा ४ दिने मेला सहित विविध कार्यक्रम गरि मनाइने भएको छ। सोबारे मंगलवार एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

किराँत याक्थुङ चुम्लुङ र सिरिजंङ्गा स्मृति धार्मिक वन समूहको संयुक्त आयोजनामा पुस ७ गतेदेखि १० गतेसम्म ४ दिन धार्मिक वन परिसरमा कार्यक्रम सञ्चालन हुने आयोजक समितिका संयोजक डम्बर चोङ्बाङ्ग लिम्बूले जानकारी दिए । लिम्बूले सो अवसरमा ऐतिहासिक खेलहरु, लिम्बू समुदायको साँस्कृतिक नृत्यहरु सहित मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन हुने बताए ।

पुस ७ गतेबाट अनौपचारिक रुपमा कार्यक्रमको उद्घघाट्न हुँदै ९ गतेसम्म भलिबल प्रतियोगिता संचालन हुने आयोजक समितिका सदस्य सचिव विक्रम लिम्बूले बताए । १० वटा टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले ६० हजार र उपविजेताले ४० हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । पुस ९ गतेनै धनुष काँड हान्ने, छेलो, भाले जुधाई, डोरी तान्ने, लङ जम्प लगायतको खेलकुद प्रतियोगिता सञ्चालन हुनेपनि आयोजक समितिका सदस्य सचिव लिम्बूले जानकारी दिए ।

भोलिपल्ट पुस १० गते औपचारिक रुपमा नगर प्रमुख मोहनप्रसाद तुम्बापोले चासोक तङ्नामको उद्घघाट्न गर्ने कार्यक्रम रहेको छ । सोहि दिन ऐतिहासिक तथा सांस्कृतिक कार्यक्रमहरु केलाङ, येवा लाङ, यालाङ, हाक्पारे, ख्याली, पालाम लगायतका नृत्यहरु प्रस्तुत गरिने आयोजकले जानकारी दिए । सो दिन बिहान लिम्बू धामी (फेदाङ्मा) को उपस्थितिमा पूजाका लागि अक्षेता र भेटि जम्मा गरि सामुदायिक भेटघाट सहित पूजाआजा र प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ ।

चासोक तङ्नामको अवसरमा मनोरञ्जनात्मक कार्यक्रम हुने बताइएको छ । १० गते साँझ भोइस अफ नेपाल सिजन ४ को फस्ट रनर अप सबिना योङ्गहाङ, स्थानीय गायक नन्दु गुरुङ, पुष्प राई, दिपा सुहाङ्ग, जगत राई, रविन कन्दङ्वा समेतको बेजोड सांगीतिक प्रस्तुतीहरू रहनेछन् ।
कार्यक्रम ‘आफ्नो भेषभुषा, भाषा, लिपी, कला र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गरौं’ भन्ने मुल नाराका साथ सञ्चालन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्