किराँत राई यायोक्खाले जित्यो सामुहिक लोक नृत्य नगर च्याम्पियनको उपाधी


कानेपोखरी, पुस ०१ । मोरङ पथरी शनिश्चरे २ कार्यालयले आयोजना गरेको सामुहिक लोक नृत्य नगर च्याम्पियनको उपाधी किराँत राई यायोक्खा पथरीशनिश्चरेले हात पारेको छ ।

‘नेपाली लोक संस्कृतिको संरक्षण, युवा तथा नयाँ पुस्तामा जागरण’ भन्ने मूल नाराको साथ सम्पन्न प्रतियोगितामा नगरभरिका संघ, संस्था तथा विद्यालयहरु गरी जम्मा १० वटा समूहले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसअन्तर्गत किराँत राई यायोक्खा पथरीशनिश्चरे प्रथम हुँदा सुजना डान्स सेन्टर वडा नं. १० दोस्रो र रेडस्टार बोर्डिङ स्कुल वडा नं. २ ले तेस्रो स्थान ओगट्न सफल भयो । प्रतियोगिताका विजेताहरूलाई क्रमशः २०, हजार ,१५ हजार र १० हजार नगदसहित प्रमाण पत्र,ट्रफी आदिले पुरस्कृत गरिएको थियो।

वडा अध्यक्ष नैना राईको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो रहेका थिए। यसैगरी वडा नं. १० का वडाध्यक्ष जीवन खतिवडा, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्